मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, एक घाइते

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– १०, बोक्सेमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

आइतबार दिउँसो गाईघाटबाट करमगाछीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले सगरमाथा राजमार्गमा बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार दुर्घटनामा साइकलयात्री त्रियुगा नगरपालिका– १० निवासी करिब ६० वर्षीय सन्तबहादुर राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मोटरसाइकलचालक सिराहाको नरहा गाउँपालिका– ३ घर भई हाल त्रियुगा नगरपालिका– १२ बस्ने १९ वर्षीय मोहम्मद सविर राइन घाइते भएका छन्। उनी त्रियुगा नगरपालिका– ११ पिपलचोकस्थित प्रशान्त विकको मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए। शरीरका विभिन्न भागमा चोट लागेका राइनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले मोटरसाइकल र साइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार