माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका– ८, एकान्तमा भएको दुर्घटनामा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शौचालय जान गाडीबाट ओर्लिएकी स्वस्तिका र उनकी छोरीलाई विपरीत दिशाबाट आउँदै गरेको भे.१ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारकै क्रममा बिहान ९:३० बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।