कर्णालीमा पहिलोपटक व्यावसायिक याक चिज उत्पादन हुँदै

चौँरी फार्म चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र डिडिसीबिच सम्झौता

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

पहिलोपटक कर्णालीमा व्यावसायिक याक चिज उत्पादन हुने भएको छ । व्यावसायिक चौँरी फार्म चिज उद्योग सञ्चालनका लागि डोल्पाको जगदुल्ला गाउँपालिका– ४ मा रहेको भालु जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डिडिसी)बिच सम्झौता भएको हो । सम्झौतापत्रमा डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिका डोल्पाका अध्यक्ष नारासिं रोकायाले शनिबार चिज उत्पादनसम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार डिडिसीले उद्योग सञ्चालनका लागि याक (नाक) चिज उत्पादनसम्बन्धी तालिमसहित आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । प्राविधिक सहयोग पाएपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी भने गाउँपालिकाको हुने र गाउँपालिकाले उत्पादन गरेको चिज डिडिसीले खरिद गर्नेछ । ‘हामी तत्काल नै काठमाडौंबाट प्राविधिक पठाएर काम सुरु गर्छौँ,’ डा. पाण्डेले भने, ‘हामीले हरेक वर्ष यहाँबाट ३० टन यक चिज उत्पादन गर्न सक्छौँ ।’ यो चिज उत्पादन उद्योग समुद्री सतहबाट करिब चार हजार मिटरको उचाइमा छ । डोल्पा देशकै धेरै चौँरीपालन हुने जिल्लामध्ये एक हो । यार्सागुम्बालगायतका हिमाली वनस्पति चरन गर्ने भएकाले यहाँको चिजको छुट्टै विशेषता रहने स्थानीयको भनाइ छ । 

यता, डिडिसीले मध्यपूर्वमा घिउ निर्यात सुरु गरेको छ । शुक्रबार डिडिसीले पाँच सय किलो घिउ दुबई निर्यात गरेको हो । मध्यपूर्वका सबै देशमा डिडिसीको घिउ निर्यात गर्ने गरी निजी क्षेत्रसँग सम्झौता भइसकेको पनि महाप्रबन्धक पाण्डेले बताए । महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि जापान र दक्षिण कोरियामा समेत घिउ निर्यात हुनेछ । 

See More On

सुझावित समाचार