जनकपुरधाममा पोखरी तथा गुठीका जग्गा संरक्षणका लागि शनिबारबाट गुठीको अतिक्रमण हटाउन अभियान सुरु भएको छ । गुठी संस्थान जनकपुरधामले पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराउन डोजर चलाएको हो ।
गिरनारी कुटीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिलबाट डोजर चलाउन सुरु भएको छ । पहिलो चरणमा भने सातवटा पोखरीका डिल खाली गराउने तयारी छ ।
गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार जनकपुरधाम क्षेत्रका ४९ वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने लक्ष्य राखिएको छ । अतिक्रमित क्षेत्र खाली गराउन १ साउनमा सूचना प्रकाशित गरिएको थियो भने शुक्रबार नगरक्षेत्रमा माइकिङ गरिएको थियो । ‘सूचनाको अटेर भएपछि डोजर चलाएका हौँ,’ उनले भने ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका अनुसार हालसम्म ३० वटा पोखरीको नापी सम्पन्न भइसकेको छ । बाँकी पोखरीको नापी पनि चाँडै पूरा गर्ने तयारी छ । लामो समयदेखि जनकपुरधामका पोखरीका डिलमा घर, टहरा तथा अन्य संरचना निर्माण गरी अतिक्रमण हुँदै आएको छ । गुठीको जग्गा संरक्षणका लागि सरकारले गठन गरेको कार्यदलको योजनाअनुसार अभियान अघि बढाइएको संस्थानले जनाएको छ ।