- नौ वर्षपछि शीर्ष डिभिजनमा कमब्याक गरेको हलसिटीले पहिलो खेलमै उपाधि दाबेदार म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनायो
नवप्रवेशी टिम हलसिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२६/०२७ मा सानदार सुरुवात गरेको छ । नौ वर्षपछि शीर्ष डिभिजनमा कमब्याक गरेको हलसिटीले पहिलो खेलमै उपाधि दाबेदार म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनायो । शनिबार राति द एमकेएम मैदानमा २४ हजार समर्थकमाझ घरेलु टोलीले सानदार प्रदर्शन गर्दै प्रभावशाली पुनरागमन गर्यो । हलसिटीको जितमा अफ्रिकन खेलाडीद्वय सेमी अजयी र नोबेल मेन्डीले समान एक गोल गरे ।
हलसिटीका कप्तान लेवी कोयली पहिलो खेलमा २–० को जितले आफू नै चकितमा परेको बताउँछन् । ‘छक्क परिरहेको छु । युनाइटेडविरुद्ध २–० को जित निकै गाह्रो हो,’ उनी भन्छन्, ‘हलसिटीको टिमसँग विशेष केही छ । हामीलाई थाहा छ, हामीले कस्तो नतिजा दिनुपर्छ ।’
लामो समयपछि गत सिजनमा युनाइटेड लयमा फर्किएको थियो । माइकल क्यारिकको साथ युनाइटेड तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा समेत पुनरामगन गरेको थियो । यस सिजनमा टिमबाट समर्थकले ठुलै आशासमेत गरेका थिए । तर, पहिलो खेलमा भने आशातीत प्रदर्शन निस्कन सकेन । टिम सिजनको पहिलो खेलमै नयाँ टिमसँग स्तब्ध भयो ।
यता, च्याम्पियनसिपबाट प्लेअफ खेल्दै बढुवा भएको हलसिटीले भने सानदार सुरु गरेको छ । प्लेअफ खेलमा मिडल्सब्रोगलाई १–० ले हराउँदै टिम नौ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । टिमलाई तीन अंक दिलाउन दुवै डिफेन्डरले गोल गरेका हुन् ।
अजायीले खेलको १७औँ मिनेटमा गोल गरेका हुन् । ओली म्याकबर्नीको प्रहारलाई युनाइटेडका गोलकिपर सेने लामेन्सले फर्काएका थिए । तर, प्राप्त बललाई अजयीले गोलमा परिणत गरेका हुन् । मेन्डीले डेब्यु गोल गरे । कीर्तिमानी मुल्यमा अनुबन्ध भएका मेन्डीले ३८औँ मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका हुन् । यसपटक उनले रेगान स्लाटरको फ्रिकिक पासमा हेडर गोल गरेका थिए ।
सन् २०१७ मा टोटनहमविरुद्ध घरेलु मैदानमा ६–१ को हारपछि हलसिटीको प्रिमियर लिगमा पहिलो खेल थियो । हलसिटीका लागि खेलिरहेका ग्रिसका २३ वर्षीय गोलपिकर कोन्स्टान्टिनोस ज्योलाकिस खेलअघि अनुमान गरिएजस्तो व्यस्त भने हुनुपरेन । यद्यपि, खेलभर उनले पाँच प्रहार बचाउ गरेका थिए । जसमा खेलको अन्त्यतिर ब्रायन एमबेउमोको प्रहारसमेत समावेश थियो । प्रिमियर लिगमा बढुवा भएसँगै हलसिटीले सेनेगलबाट डिफेन्डर मेन्डी, ग्रिसका गोलकिपर जोलाकिस र स्विडिस विंगर एलिओट स्ट्रोउडलाई अनुबन्ध गरेको थियो । तीनै खेलाडीले पहिलो खेलमा डेब्यु समेत गरे ।
यता, युनाइटेडले पहिलो हाफमै २–० ले पराजित भएपछि बार्सिलोनाबाट फर्किएका मार्कुस रसफोर्डलाई मैदान पठाएको थियो । तर, इंग्ल्यान्डका फरवार्डको पनि केही चलेन । खेलभर युनाइटेडले २१ पटक अवसर बनाएको थियो । तर, तीन–चार मात्रै राम्रा अवसर बने । हलसिटीका गोलकिपर जोलाकिसले रसफोर्ड, कुन्हा, एमबेउमो र बुन्रो फर्मान्डेजको राम्रै परीक्षासमेत लिएका थिए ।
साबिक विजेता आर्सनलको दमदार सुरुवात
साबिक विजेता आर्सनलले नयाँ सिजन २०२६/०२७ मा सानदार जित सुरु गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनलले नवप्रवेशी क्लब कोभेन्ट्री सिटीलाई ३–० ले हरायो । इमिरेट्स मैदानमा ६० हजार समर्थकमाझ आर्सनललाई जिताउन काई हाभार्ट्ज, बुकायो साका र मार्टिन ओडेगार्डले समान एक गोल गरेका थिए । आर्सनलले पहिलो हाफमै दुई गोल गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो । हाभार्ट्जले खेलको १५औँ मिनेटमै आर्सनललाई अग्रता दिलाए ।
रिकार्डो कालाफिओरीको पासमा उनले गोल गरेका थिए । साकाले २३औँ मिनेटमा अग्रता दोब्बरको बनाएका थिए । ४९औँ मिनेटमा ओडेगार्डले तेस्रो गोल गरेका हुन् । उनले बेन वाइटको पासमा गोल गरेका थिए । जितपछि आर्सनलले उपाधि रक्षा अभियानलाई सानदार सुरु गरेको छ ।