एकताका नेपालकै प्रमुख सरकारी औद्योगिक प्रतिष्ठानमध्ये रहेको हेटौँडा कपडा उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडासँगै नेपाली सेनाका लागि आवश्यक कपडासमेत उत्पादन गर्थ्यो । उद्योग सञ्चालनमा रहेका वेला करिब एक हजार दुई सयजनाले प्रत्यक्ष रोजगारी पाएका थिए । तर, राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी, लगातारको घाटा र बन्द–हडतालका कारण ०५७ मा उद्योग बन्द भयो ।
अढाइ दशकपछि हेटौँडा कपडा उद्योगको मेसिन खटखटाउन थालेका छन् । उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले थालिएको परीक्षण उत्पादन सफल भएको छ । पुराना १० मेसिनले कपडा उत्पादन थालिसकेका छन् भने १० मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी भइरहेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले पुराना मेसिनलाई आधुनिकीकरण गर्दै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएकी छिन् । हेटौँडा कपडा उद्योगमा ४८८ मेसिन छन् ।
असार पहिलो सातादेखि नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० प्राविधिक खटिएर परीक्षण उत्पादन गर्न भनिएको थियो । दुई महिनामा परीक्षण सफल भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले मर्मतका लागि ३३ लाख रुपैयाँ निकासा गरेको थियो । सोही रकमले सरसफाइ र आवश्यक मर्मत गरी १० वटा मेसिन चलाएर कपडा उत्पादन थाालिएको हो । थप १० वटा मेसिन पनि चलाउन योग्य बनाइएको बताइएको छ ।
उद्योगमन्त्री यादव शनिबार हेटौँडा पुगेर परीक्षण उत्पादनको निरीक्षण गर्दै पूर्ण क्षमतामा चलाउने गरी सरकार अघि बढेको जानकारी दिइन् । सेनाको प्राविधिक टोलीले उद्योगमा १० लुमबाट नियमित परीक्षण उत्पादन भइरहेको र थप १० लुम सञ्चालनको तयारीमा रहेको जानकारी मन्त्री यादवलाई गराएको छ । सञ्चालनमा रहेका १० मध्ये तीनवटा लुमलाई अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ । बाँकीलाई पनि क्रमशः अटोमेटिक बनाउने काम भइरहेको उद्योग मर्मतकार्यमा सहभागी प्राविधिकले जानकारी दिएका छन् ।
नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक, कपडा उद्योगमै काम गरेका पुराना दुईजना कर्मचारी र टेक्टाइल उद्योगमा दक्षताप्राप्त दुईजना प्राविधिकसमेत काठमाडौंबाट लगेर उद्योगमा प्रयोगविहीन रहेका मेसिन मर्मत, उत्पादन, पुनः सञ्चालन र उत्पादन प्रणालीलाई आधुनिक बनाउने काममा खटाइएको छ ।
उद्योगलाई पूर्ण क्षमतामा चलाउँछौँ : उद्योगमन्त्री यादव
उद्योग निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री यादवले परीक्षण उत्पादनलाई सरकारले लिएको औद्योगिक पुनर्जागरण अभियानको महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनले उद्योगका सबै मेसिन सञ्चालन गर्ने लक्ष्य रहेको बताउँदै केही ढिलो भए पनि धैर्यता राख्न आग्रह गरिन् । ‘४८८ मेसिनमध्ये अहिले २० वटा तयार भइसकेका छन् । त्यसमध्ये १० वटाले उत्पादन गरेको सबैले देख्नुभएको छ । क्रमशः सबै ४८८ वटै मेसिन सञ्चालनमा ल्याउँछौँ,’ उनले भनिन्, ‘सरकारले उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य लिएको छ । त्यो हामी गर्छौँ ।’
मन्त्री यादवले उद्योग सञ्चालनमा ढिलाइ हुन सक्ने भए पनि काम सही दिशामा अघि बढिरहेको दाबी गरिन् । उनले उद्योग पुनः सञ्चालनको प्रयास भएसँगै केही स्वार्थ समूह सक्रिय हुन थालेकाले सजग हुनुपर्ने बताइन् । ‘सरकारको प्रयासमा कपडा उद्योगमा यति राम्रो काम चलिरहेको छ । यसलाई बन्द गराउने तŒवहरू भने अहिले फेरि सक्रिय भएका छन् । बिचौलियाको आँखा यसमा परिसकेको छ । त्यसैले अब उद्योग जोगाउन जनताको साथ चाहिन्छ,’ उनले भनिन् । उद्योगबाट उत्पादन हुने साडी, कपडा तथा अन्य सामग्री नेपाली उपभोक्ताले नै प्रयोग गर्नुपर्नेमा मन्त्रीको जोड थियो । उनले उद्योगको सफलतामा नागरिकको सहभागिता अपरिहार्य रहेको बताइन् । ‘तपाईँहरूले पनि अब यहीँ उत्पादन भएको कपडा प्रयोग गर्नुस् । हामी पनि गर्छौँ,’ उनले भनिन् ।
मन्त्री यादवले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थको दीर्घकालीन व्यवस्थापनमा सरकार केन्द्रित रहेको बताइन् । उनले केही दिनअघि किसानलाई कपास खेती विस्तार गर्न सार्वजनिक आह्वान गरिएको स्मरण गराउँदै स्वदेशमै कच्चा पदार्थ उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।
‘किसानलाई कपास खेती गर्न आग्रह गर्छु, ती सबै कपास सरकारले किन्छ । उद्योगलाई आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्छ,’ उनले भनिन् । सरकारले केही मेसिन मात्रै चलाएर प्रचारबाजी गरेको भन्ने आरोपबारे मन्त्री यादवले अस्वीकार गरिन् । उनले अघिल्लो सरकारले नौ करोड रुपैयाँ खर्च गर्दा उत्पादन सुरु हुन नसकेको तथ्यांक दिँदै अहिले करिब ३३ लाख रुपैयाँमै २० वटा लुम मर्मत गरेर सञ्चालनयोग्य बनाइएको बताइन् ।
‘यदि यो स्टन्टबाजी हो भने जनताले त्यही बुझ्लान् । तर, मलाई लाग्छ, हामीले काम गरेर देखाइरहेका छौँ । मूल्यांकन जनता आफैँले गर्छन्,’ उनले भनिन् ।
पुराना मेसिनलाई अटोमेटिक बनाइँदै, उत्पादन क्षमता तीन गुणासम्म बढ्ने दाबी
उद्योग पुनः सञ्चालनमा संलग्न टेक्सटाइल प्राविधिक राजप्रसाद अमात्यका अनुसार उद्योगका पुराना सटल लुमलाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ । ‘अहिले १० वटा मेसिनमध्ये तीनवटा पूर्ण अटोमेटिक बनाएका छौँ । बाँकीलाई पनि क्रमशः अटोमेटिक बनाउँदै छौँ,’ उनले भने । उनका अनुसार अटोमेटिक प्रणालीले उत्पादन क्षमता उल्लेखनीय रूपमा बढाउँछ । उनले अटोमेटिक मेसिनले जनशक्ति कम प्रयोग गरी उत्पादन बढी हुने बताए । ‘पहिले एउटा मेसिन चलाउन धेरै जनशक्ति चाहिन्थ्यो । अहिले अटोमेटिक भएपछि जनशक्ति कम लाग्छ र उत्पादन धेरै हुन्छ । सटल लुमले आठ घण्टामा २०–२५ मिटर कपडा निकाल्न सक्छ भने अटोमेटिक मेसिनले ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन गर्न सक्छ,’ उनले भने ।
अमात्यका अनुसार उद्योगका मेसिन एक शताब्दी पुराना भएकाले तिनका पार्टपुर्जा पाउन कठिन छ । चीनले समेत यस्ता मेसिन उत्पादन गर्न छाडिसकेको अवस्थामा आवश्यक सामग्री ल्याएर पुराना मेसिनलाई नयाँ प्रविधिसहित पुनर्जीवित गर्न सकिने उनले बताए । अर्का प्राविधिक रमेशबहादुर भट्टराईका अनुसार अटोमेटिक प्रणालीपछि उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ‘अब अटोमेटिक प्रणालीमा आएपछि कपडा उत्पादन धेरै बढ्छ । सबै मेसिन सञ्चालन गर्न सकियो भने उद्योगले ठुलो परिमाणमा उत्पादन गर्न सक्छ,’ उनले भने । उनका अनुसार मेसिनको मुख्य प्रणाली—डबी, सेभर, ब्रेक र क्लच—परिवर्तन गरेर आधुनिक बनाइएको छ ।
०३२ सालदेखि उद्योगसँग जोडिएका पुराना कर्मचारी भीष्मप्रसाद लम्सालले उचित मर्मत गरेपछि पुराना मेसिन पनि सहज रूपमा सञ्चालन गर्न सकिने भएको बताए । ‘मेसिन कहिल्यै बुढो हुँदैन, मान्छे बुढो हुन्छ । आवश्यक पुर्जा फेरेपछि यो फेरि नयाँजस्तै हुन्छ,’ उनले भने । उनका अनुसार पनि उद्योगका चार सय ८८ वटै मेसिन पुनः सञ्चालन गर्ने सम्भावना रहेको छ ।