काठमाडौंको थापाथलीस्थित ऐतिहासिक जंग–हेम–हिरण्य मन्दिर, अर्थात् कालमोचन मन्दिर, अहिले पुनर्निर्माणपछि अस्तव्यस्त बनेको छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको अगुवाइमा निर्माण गरिएको यो मुगल शैलीको तीनतले मन्दिर बागमती किनारमा अवस्थित छ।

मन्दिरमा लक्ष्मी–नारायणका तीनवटा पूर्णकदका ढलोट मूर्ति तथा जंगबहादुरको शालिक रहेको छ। गुठी संस्थानको पहलमा हरेक वर्ष फागुन शुक्ल द्वादशीका दिन यही परिसरमा जंगबहादुर राणाको श्राद्ध गरिँदै आएको छ।

उक्त मन्दिरमा २०५७ सालदेखि जंग–हेम–हिरण्य मन्दिरको नियमित पुजा गर्दै आएका ७० वर्षीय पुजारी गोविन्द प्रसाद कोइरालाका अनुसार पुनर्निर्माणका क्रममा मन्दिरका मुकुट, गजुरलगायत सामग्री छाउनीमा राखिएको भए पनि निर्माण सम्पन्न भइसक्दा पनि ती सामग्री मन्दिरमा फिर्ता ल्याइएको छैन। भद्रकाली मन्दिर निर्माणका सामग्रीसमेत परिसरमा थुपारिएकाले मन्दिर क्षेत्र अस्तव्यस्त बनेको उनको भनाइ छ।






