नेपाली कांग्रेसका महाधिवेशनहरूमा क्रियाशील सदस्यता विवाद पुरानै समस्या बन्दै आएको छ । १३औँ महाधिवेशनदेखि सुरु भएको सदस्यता विवाद १४औँ महाधिवेशनसम्म पनि समाधान हुन सकेन।
१३औँ महाधिवेशनका क्रममा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विषयलाई लिएर तत्कालीन संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच तीव्र विवाद भएको थियो । दुवै पक्षले आफ्नो पक्षका सदस्य थप्ने तथा विपक्षी पक्षका सदस्यको सदस्यता कटौती गरेको आरोप लगाएका थिए । विवादका कारण स्थानीय तहका अधिवेशनसमेत प्रभावित भएका थिए।
क्रियाशील सदस्यता विवाद पूर्ण रूपमा टुंगो नलाग्दै ०७२ फागुन २० देखि २३ गतेसम्म महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए।
१४औँ महाधिवेशनमा पनि क्रियाशील सदस्यता विवाद दोहोरियो। ०७८ मंसिरमा सम्पन्न महाधिवेशनका लागि करिब नौ लाख क्रियाशील सदस्य भए पनि विवादका कारण आठ लाख ८२ हजार ८१६ सदस्य मात्रै कायम गरियो । विवादित क्षेत्रमा १३औँ महाधिवेशनकै प्रतिनिधिलाई मान्यता दिइएको थियो।
यसरी क्रियाशील सदस्यता विवादका कारण सदस्य संख्या घटाएर महाधिवेशनमा सहभागी गराइएको थियो । १४औँ महाधिवेशनबाट देउवा पुनः सभापतिमा निर्वाचित भएका थिए।