स्वैच्छिक रक्तदानमार्फत कसैको जीवन बचाउन सघाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तथा रक्तसञ्चार केन्द्रको सहकार्यमा रक्तदान महाअभियान थालिएको छ। ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ भन्ने नारासहित शुक्रबार बिहान सिराहा जिल्ला सदरमुकामस्थित सेवा केन्द्रबाट थालिएको रक्तदान महाअभियान ९ भदौसम्म जिल्लाको विभिन्न ठाउँमा सञ्चालन गरिने केन्द्रले जनाएको छ।
ब्रह्माकुमार बबिन भाइका अनुसार शुक्रबार बिहानसम्म केन्द्रका ब्रह्माकुमारी र ब्रह्माकुमार, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय सर्वसाधारण गरी २५ जनाले रक्तदान गरेको र दिउँसोदेखि सिराहा कारागारमा रक्तदान भइरहेको छ।
केन्द्रले महाअभियानअन्तर्गत ६ भदौमा ब्रह्माकुमारी आश्रम बन्दीपुर, ७ गते उद्योग वाणिज्य संघ गोलबजार, ८ गते सगरमाथा चौधरी आँखा अस्पताल लहान र ९ गते लहानस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरिने उनले बताए।
महाअभियानले सिराहा र लहानमा रहेका प्रादेशिक अस्पतालसहित सप्तरी, उदयपुर जिल्लासम्मका बिरामीका लागि उपचारमा रगत व्यवस्थापन गर्न सहज हुने रक्तसञ्चार केन्द्र लहानका प्रमुख प्रदीप यादवले बताए ।
उनका अनुसार केन्द्रमा ए प्लस र एबी प्लस समूहका रगतको केही कमी भए पनि अन्य समूहका रगत आवश्यकताअनुसार पर्याप्त मौज्दात रहेको छ । ‘महाअभियानपछि अभाव रहेको समूहको रगत पनि व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ,’ उनले भने ।