मापदण्डविपरीतका होटेल तथा लजहरूमा छड्के अनुगमन

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

धनकुटा बजारको हुलाक टोल क्षेत्रमा सञ्चालित अधिकांश होटेल तथा लजहरू मापदण्डविपरीत सञ्चालन रहेको पाइएको छ। सेवाग्राहीबाट होटेल तथा लजको सेवा र सरसफाइबारे अत्यधिक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा संयुक्त रूपमा छड्के अनुगमन गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय धनकुटाको अगुवाइमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रूपमा अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा अधिकांशका होटेल तथा लजको कमजोरी पाइएको छ। होटेलका भान्सा, मूल्यसूची टाँस नगरिएको तथा लजको बेडमा कपडा व्यवस्थापन, सरसफाइ नभएको र शौचालयमा फोहोर पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य अनुसन्धान अधिकृत अमृता राईले बताइन् । ‘धनकुटाका अधिकांश होटेल तथा लजहरू आवश्यक मापदण्डअनुसार सञ्चालन नभएको पाइयो,’ उनले भनिन् ।

सेवाग्रहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । उपभोक्ता नठगिउन् भनेर बजार अनुगनमलाई तीव्रता दिइएको छ । ती होटेल तथा लजहरू आवश्यक मापदण्डअनुसार सञ्चालन गर्न सचेत गराइएको खाद्य अनुसन्धान अधिकृत राईले बताइन् । होटेल सञ्चालकलाई आवश्यक मापदण्ड पूरा गरी होटेल तथा लज सञ्चालन गर्न, होटेलमा अनिवार्य रूपमा मूल्यसूची राख्न तथा खाद्य सामग्री खानयोग्य अवस्थामा मात्र बिक्री–वितरण गर्न निर्देशन दिइएको थियो ।
 

See More On

सुझावित समाचार