राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृसमेत रहेकी संघीय सरकारकी मन्त्री प्रतिभा रावल मन्त्रीमा नियुक्त भएपछि पहिलोपटक मातृभूमि सुदूरपश्चिम आउन लागेकी छिन । भूमि व्यवस्था, सरकारी, संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावल पहिलोपटक मातृभूमि सुदूरपश्चिम आउन लागेकी हुन् ।
पुर्ख्याैली घर अछाम भई कञ्चनपुर महेन्द्रनगरमा बाल्यकाल बिताएकी रावल मन्त्रीमा नियुक्त भएपछि ६ महिना अर्थात् १५० दिनमा मातृभूमिमा पाइला टेक्न लागेकी छिन् । विभागीय सरकारी कामकाजकै सिलसिलामा मन्त्री सुदूरपश्चिम आउन लागेको जनाएको छ । मन्त्री रावल स्वयं आफैँले पनि फेसबुकमार्फत भदौ ६ गतेदेखि कञ्चनपुर, कैलालीलगायतका सुदूरपश्चिमका जिल्लाहरूमा भ्रमणमा रहने जानकारी गराएकी छिन् ।
‘भ्रमणका क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा उक्त क्षेत्रका भूमिहीन, सुकुमवासी जनतासँग र सम्बन्धित सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाउँदै सम्बन्धित विषयमा सरकारले गरिरहेका काम तथा आगामी तयारीबारे जानकारी गराउनेछ,’ उनले भनेकी छिन् ।
मन्त्री रावल ६ भदौ बिहान ८ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको छ। धनगढी पुगेपछि उनले कैलालीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्ने र त्यसपछि मन्त्री रावलले धनगढी उपमहानगरपालिकाको अनुगमन गर्ने र साँझ महेन्द्रनगर आउने कार्यतालिका रहेको छ।
७ भदौ बिहान उनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। त्यसपछि भीमदत्त, बेदकोट र दोधाराचाँदनी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको तथा त्यसपछि डडेल्धुरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, भदौ ९ गते बिहान १० बजेदेखि १२ बजेसम्म मन्त्री रावलले डडेलधुराका प्रमुख जिल्ला अधिकारी तथा मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ । छलफलपछि उनले अमरगढी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ। अनुगमन सकेर मन्त्री रावल साँझ महेन्द्रनगर फर्किने कार्यतालिका रहेको जनाइएको छ।
रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले पहिलो पटक मन्त्रीले जिल्ला भ्रमणमा क्रममा चुनावका वेला गरिब भूमिहीन जनतालाई लालपुर्जा दिने वर्षौँदेखि आरक्षपीडितको समस्यादेखि जकल्टिएको सरकारी निकायमा हुने संस्थागत भ्रष्टाचार अन्त्यका लागि ध्यानाकर्षण गराउने बताए ।