पाँचौँ संस्करणको राइट टु प्रोटिन रन २०२६ पोखरामा आयोजना हुने भएको छ । यसअघिका लगातार चार संस्करण काठमाडौंमा भएका थिए । यसपटक आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआइए)ले पोखरामा आयोजना गर्न लागेको जानकारी दिएको छ । आयोजकले आगामी ३ असोजमा पुरुष र महिलातर्फ हाफ म्याराथन दौड हुने जनाएको छ । आयोजकका अनुसार यसपटक दौडमा आठ विधामा प्रतिस्पर्धा हुनेछ ।
खुला पुरुषतर्फ १० किलोमिटर र खुला महिलातर्फ पाँच किलोमिटरको दौड विधा समावेश छ । समग्रमा चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ । पोषण, प्रोटिनको महत्व, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले दौड आयोजना गर्न लागिएको हो । १६ लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताले पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ ।
एनएफआइएको आयोजनामा तथा युएस सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी)को मुख्य प्रायोजनमा हुने दौडलाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्ने जनाइएको छ । कक्षा १२ सम्मका पुरुषका लागि पाँच किलोमिटर, महिलाका लागि तीन किलोमिटर तथा ह्विलचेयरतर्फ पुरुष र महिला दुवैका लागि तीन किलोमिटरको प्रतिस्पर्धा हुनेछ । प्रत्येक विधाका उत्कृष्ट पाँच धावकले नगदसहित पुरस्कार पाउनेछन् । दौड लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु भएर हल्लनचोक, खहरे, सेदी, खपौँदी, पामे हुँदै पुनः वसुन्धरा पार्कमा सकिनेछ ।