एक वर्षपछि सुदूरपश्चिममा अख्तियारको ‘स्ट्रिङ अप्रेसन’

कर्मचारीको सेवा–सुविधा बढाइदिने भन्दै घुस मागेको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षपछि ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरेको छ। आयोगको कञ्चनपुर कार्यालयले १३ महिनापछि घुससहित एकजनालाई पक्राउ गरेको हो।

अख्तियार कार्यालय कञ्चनपुरका अनुसार गत वर्ष ५ साउनमा कैलालीका सहायक वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको थियो। त्यसयता १३ महिनासम्म भ्रष्टाचारमा संलग्न कर्मचारी, बिचौलिया वा अन्य व्यक्तिलाई नगद तथा भौतिक घुससहित पक्राउ गरिएको थिएन।

चालू आर्थिक वर्षको सुरुवाती चरणमै अख्तियारले कैलालीको गौरीगंगा नगरपालिकास्थित एक सामुदायिक विद्यालय व्यवस्थापन समितिका सदस्यलाई घुससहित पक्राउ गरेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार गौरीगंगा नगरपालिका– ४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर बमलाई बिहीबार दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।

प्रवक्ता पन्तका अनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीलाई सेवा–सुविधा वृद्धि गरिदिने प्रलोभनमा पारेर रकम मागेको सूचनाका आधारमा अख्तियारले ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरेको थियो। सोही क्रममा बमलाई नगदसहित पक्राउ गरी नियन्त्रणमा लिइएको हो।

संघीय सरकारले विद्यालय कर्मचारीको तलब वृद्धि गरेको भोलिपल्टै विद्यालय व्यवस्थापन समितिका सदस्यले कर्मचारीबाट मोटो रकम घुस लिएको घटना सार्वजनिक भएपछि विद्यालय कर्मचारीहरूसमेत रुष्ट भएका छन्।

सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति, बढुवा र सेवा–सुविधा वृद्धि गर्ने विषयमा घुस तथा कमिसनको चलखेल हुने गरेको भन्दै अख्तियारको पछिल्लो कारबाहीले प्रदेशभरका सामुदायिक विद्यालयलाई सचेत बनाएको छ।

विद्यालयमा हुने नियुक्ति, बढुवा तथा सेवा–सुविधासम्बन्धी निर्णयमा आर्थिक चलखेल नियन्त्रण गर्न अख्तियारले निरन्तर निगरानी र कारबाही गर्नुपर्ने अभिभावकहरूको माग छ। उनीहरूले सामुदायिक विद्यालयमा हुने घुस लेनदेन तथा कमिसनजन्य भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको सक्रियता आवश्यक रहेको बताएका छन्।

सुझावित समाचार