निर्माण क्षेत्रमा लगानी बढाउँदै नबिल बैंक

स्टिल उद्योगमा साढे १५ अर्ब र सिमेन्ट उद्योगमा पौने नौ अर्ब लगानी

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले सिमेन्ट र स्टिल उद्योगलाई प्राथमिकतामा राख्दै अर्बौँ रुपैयाँ लगानी गरेको छ । यो लगानीले देशको निर्माण क्षेत्रलाई आवश्यक वित्तीय आधार उपलब्ध गराउँदै औद्योगिकीकरण र पूर्वाधार विकासलाई गति दिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यही वैशाखसम्म १० प्रमुख सिमेन्ट उद्योगमा करिब आठ अर्ब ८१ करोड रुपैयाँ कर्जा भएको छ । त्यस्तै, जेठसम्म विभिन्न स्टिल उद्योगमा कुल कर्जा लगानी करिब १५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । यो बैंकको कुल कर्जा पोर्टफोलियोको ३.२९ प्रतिशत हो । स्टिल उद्योगको कुल लगानीमध्ये फलाम तथा इस्पात उद्योगमा करिब १४ अर्ब ३१ करोड र अन्य धातु उद्योग तथा वर्कसपमा गरेको एक अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको बैंकको भनाइ छ ।

बैंकका अनुसार सिमेन्ट उद्योगमा पनि कर्जा प्रवाहलाई प्राथमिकतामा राखिएको छ । अर्घाखाँची सिमेन्ट, मारुती सिमेन्ट, घोराही सिमेन्ट, कोसमस सिमेन्ट, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट्स, शुभश्री जगदम्बा सिमेन्ट मिल्स र रोल्पा सिमेन्टजस्ता उद्योगमा बैंकको कर्जा प्रवाह छ । यी उद्योगले दैनिक हजारौँ टन क्लिंकर र सिमेन्ट उत्पादन गर्ने क्षमता विकास गरिसकेका छन् । यस्ता उद्योगहरूको क्षमता विस्तारमा बैंकबाट प्राप्त दीर्घकालीन कर्जाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । स्टिल उद्योगमा पनि नबिल बैंकको उपस्थिति उल्लेखनीय देखिएको छ । बैंकले नारायणी इस्पात, सर्वोत्तम स्टिल्स, गोयनका स्टिल्स, लक्ष्मी स्टिल्स, सिद्धिविनायक स्टिल्स, जय अम्बे स्टिल्स तथा पञ्चकन्या स्टिलजस्ता प्रमुख उद्योगहरूलाई वित्तीय सहयोग उपलब्ध गराएको छ ।

नेपालमा जलविद्युत् आयोजना, सडक, पुल, अग्ला भवन तथा अन्य ठुला पूर्वाधार निर्माणमा प्रयोग हुने डन्डी, स्ट्रक्चरल स्टिल तथा अन्य इस्पातजन्य सामग्रीको उत्पादनमा यी उद्योगहरूको महत्वपूर्ण योगदान छ । उद्योगहरूले उत्पादन क्षमता विस्तार गर्न, आधुनिक प्रविधि जडान गर्न, कच्चा पदार्थ खरिद गर्न तथा सञ्चालन पुँजी व्यवस्थापन गर्न बैंकिङ क्षेत्रबाट प्राप्त कर्जाले महत्वपूर्ण आधार प्रदान गरेको छ ।

‘निर्माण क्षेत्रको विस्तारसँगै सिमेन्ट र स्टिल उद्योगको माग बढ्दै गएको छ । सरकारले ऊर्जा, यातायात, सहरी पूर्वाधार तथा औद्योगिक विकासलाई प्राथमिकतामा राख्दै ठुला परियोजना अघि बढाइरहेका वेला निजी क्षेत्रबाट पनि आवासीय तथा व्यावसायिक भवन निर्माणमा लगानी विस्तार भइरहेको छ,’ बैंकले भनेको छ, ‘यस्तो अवस्थामा निर्माण सामग्रीको नियमित आपूर्ति सुनिश्चित गर्न उद्योगहरूको उत्पादन क्षमता बढाउनुपर्ने आवश्यकता हुन्छ । उद्योगहरूले आफ्नै आन्तरिक स्रोतबाट मात्र यस्तो ठुलो लगानी जुटाउन नसक्ने भएकाले बैंकहरूको दीर्घकालीन वित्तीय सहयोग अपरिहार्य बन्छ । यही आवश्यकता पूरा गर्दै उत्पादनमूलक क्षेत्रमा पुँजी प्रवाह बढाउन टेवा पुर्याएको छ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले स्टिल, सिमेटजस्ता उद्योगमा बैंकको लगानीले नेपालको आर्थिक विकासमा अहम् भूमिका खेल्ने क्षेत्रहरूलाई सहयोग गर्ने संस्थाको प्रतिबद्धतालाई झल्काउने बताए । ‘स्टिल र सिमेन्ट एक आधारभूत उद्योग हुन्, जसले पूर्वाधार विकास, औद्योगिकीकरण र रोजगारी सिर्जनामा टेवा पुर्याउँछ,’ उनले भने, ‘यस लगानीमार्फत हामी अर्थतन्त्र, हाम्रा सरोकारवाला र हामीले सेवा प्रदान गर्ने समुदायका लागि दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राख्छौँ ।’ 

सिमेन्ट र स्टिल उद्योगमा गरिएको लगानीको प्रभाव उद्योगमा मात्र सीमित नरही उद्योग विस्तारसँगै खानी सञ्चालन, ढुवानी, ऊर्जा, उपकरण आपूर्ति, निर्माण व्यवसाय तथा अन्य सहायक उद्योगहरू पनि चलायमान हुने बैंकको भनाइ छ । यसले हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै सरकारको राजस्व वृद्धि, स्थानीय आर्थिक गतिविधि विस्तार तथा निजी क्षेत्रको लगानी वातावरणलाई पनि सकारात्मक प्रभाव पार्ने बैंकले स्पष्ट पारेको छ । 

सुझावित समाचार