लागुऔषध कारोबारीसँग एक करोड १५ लाख भेटिएपछि सम्पत्ति शुद्धीकरण मुद्दा दायर

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

पसलको आवरणमा लागुऔषधको कारोबार गर्ने एक व्यक्तिसँग एक करोड १५ लाखको स्रोत नखुलेको सम्पत्ति फेला परेको छ । कारोबारी युवक, उनकी आमा तथा अवैध पैसा लुकाउन सघाउने एक महिलासहित तीनजनाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता गरेको छ । 

सिन्धुपाल्चोकको साँगाचोक घर भई काठमाडौंको स्वयम्भू बस्ने ४२ वर्षीय कुमार लामा, उनकी ६५ वर्षीया आमा ओमकुमारी तामाङ र उनीहरूको पैसा लुकाउन सहयोग गर्ने नागार्जुनकी ३३ वर्षीया सपना भण्डारीविरुद्ध लागुऔषधका साथै सम्पत्ति शुद्धीकरणको मुद्दा मंगलबार काठमाडौं जिल्ला अदालतमा दायर भएको हो । 

प्रहरी वृत्त स्वयम्भूले कुमारलाई गत ११ जेठमा खैरो हेरोइनलगायत लागुऔषध र करिब ३० लाख नगदसहित पक्राउ गरेको थियो । बैंक खाता अध्ययन गर्दा  १३ जेठमा सपना भण्डारीको खातामा ओमकुमारीबाट जम्मा गरिएको खुलेको थियो । सो रकमसमेत लागुऔषध कारोबारबाटै आर्जनसहित जफतको माग गरेको छ । यसरी पैसा लुकाउन सघाउने भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनले बयानमा जग्गा खरिदका लागि सो रकम राखेको र केही दिन खातामा राखिदिन भनेर आफ्नो खातामा राखेको बयान दिएकी छिन् । 

त्यस्तै,  कुमारकाे ११ लाख रुपैयाँ सेयर कारोबार  भेटिएको छ । उनको डेराबाट बरामद ११ लाखबराबरको सुनका गहनाको पनि जफतको माग दाबी गरिएको छ । उनको खातामा भेटिएको १२ लाख ५९ हजार र स्कुटरसमेत  लागुऔषधकै कारोबारबाट खरिद गरिएको दाबी गरिएको छ । आफ्ना सम्पत्तिको उनले स्रोत खुलाउन सकेको छैनन् । उनको स्वयम्भूमा करिब एक लाख मूल्यबराबरको सामान भएको किराना पसल छ । बरामद रकम सोही पसलको आम्दानी भएको बयान दिएका छन् । 

पक्राउ परेका लामा पटक–पटक गरेर आठ वर्ष कारागार बसिसकेका व्यक्ति हुन् । कारागारबाट छुटेलगत्तै उनले पसलकै आवरणमा लागुऔषध कारोबारको डिलर चलाएको प्रहरीको दाबी छ । बयानको क्रममा उनले आफूले लागुऔषध पनि कारोबार गर्ने र बरामदमध्ये केही रकम लागुऔषध कारोबारबापतको भएको स्वीकार गरेका छन् । 

सुझावित समाचार