जिल्ला हुलाक कार्यालय उदयपुरको राजस्व संकलन पछिल्लो आर्थिक वर्षमा घटेको छ। कार्यालयको राजस्व संकलन आर्थिक वर्ष ०८१/८२ को तुलनामा आर्थिक वर्ष ०८२/८३ मा १४.४८ प्रतिशतले घटेको हो।
जिल्ला हुलाक कार्यालय उदयपुरका निमित्त कार्यालय प्रमुख खिलराज बस्नेतका अनुसार आर्थिक वर्ष ०८१/८२ मा कार्यालयले १९ लाख २१ हजार १२७ रुपैयाँ राजस्व संकलन गरेको थियो। गत आर्थिक वर्ष ०८२/८३ मा भने राजस्व संकलन घटेर १६ लाख ४२ हजार ८११ रुपैयाँमा सीमित भएको छ।
दुई आर्थिक वर्षको तथ्यांकअनुसार कार्यालयको राजस्वमा दुई लाख ७८ हजार ३१६ रुपैयाँले कमी आएको हो। जसमा १४.४८ प्रतिशतले राजस्व संकलन घटेको बस्नेतको दाबी छ।
कार्यालयको राजस्व विवरणको तथ्यांकअनुसार सबैभन्दा ठुलो हिस्सा हुलाक टिकट बिक्रीबाट आउने गरेको थियो। आर्थिक वर्ष ०८१/८२ मा हुलाक टिकट बिक्रीबाट १४ लाख ८१ हजार ९५० रुपैयाँ संकलन भएकोमा आर्थिक वर्ष ०८२/८३ मा यो घटेर करिब ११ लाख ८६ हजार ९७० रुपैयाँमा झरेको बस्नेतले बताए। हुलाक टिकट बिक्रीमा आएको कमीले राजस्व घटेको बस्नेतले जानकारी दिए।
यता वैदेशिक पार्सल र बारकोडबाट हुने आम्दानी भने अघिल्लो वर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष ०८१/८२ मा वैदेशिक पार्सलबाट ३१ हजार ७२८ रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०८२/८३ मा बढेर एक लाख ११ हजार ७७३ रुपैयाँ पुगेको छ। त्यस्तै, बारकोड सेवाबाट हुने राजस्व दुई लाख ४६ हजार २९० रुपैयाँबाट बढेर तीन लाख २८ हजार ४६५ रुपैयाँ पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ।
तर, रोयल्टीबाट हुने आम्दानीमा भने ठुलो गिरावट आएको छ। आर्थिक वर्ष ०८१/८२ मा रोयल्टीबाट एक लाख ६० हजार ६४५ रुपैयाँ संकलन भएकोमा आर्थिक वर्ष ०८२/८३ मा घटेर १० हजार १८ रुपैयाँमा सीमित भएको छ। रोयल्टी आम्दानीमा आएको तीव्र गिरावटले पनि समग्र राजस्वमा असर पारेको बस्नेतले बताए।
उनका अनुसार अन्य प्रशासनिक सेवा शुल्कबाट हुने राजस्व भने सामान्य रूपमा बढेको छ। आर्थिक वर्ष ०८१/८२ मा यस शीर्षकबाट पाँच सय रुपैयाँ संकलन भएकोमा ०८२/८३ मा पाँच हजार ५८५ रुपैयाँ पुगेको छ।
कार्यालयको तथ्यांकले परम्परागत हुलाक सेवा, विशेषगरी हुलाक टिकट बिक्रीबाट हुने आम्दानीमा आएको कमीलाई राजस्व घट्नुको प्रमुख कारणका रूपमा देखाएको छ। पछिल्लो समय डिजिटल सञ्चार तथा विद्युतीय माध्यमको प्रयोग बढ्दै जाँदा परम्परागत हुलाक सेवाको प्रयोग र त्यसबाट हुने आम्दानी घटेको बस्नेतको भनाइ छ।
गएको आर्थिक वर्ष ०८२/८३ मा उदयपुरमा रहेको जिल्ला हुलाक, सात पालिका हुलाक र २३ वटा अतिरिक्त हुलकबाट दर्ता भएका चिठ्ठी पत्र र पार्सलहरू २० हजार ५१८ वटा जिल्लाबाहिर, देशभित्र र विदेश पठाइएको छ भने १७ हजार ३३९ वटा चिठ्ठी पत्र र पार्सल उदयपुर जिल्ला आएको बस्नेतले जानकारी दिए।