- सार्वजनिक रूपमा बढ्दो आपसी शत्रुताका बाबजुद दुवै देशलाई अझै पनि एक–अर्काको आवश्यकता छ
इजरायलमा सानो खाडी राज्य कतारसँगको सम्बन्ध कडा प्रतिस्पर्धात्मक चुनावी मौसमको केन्द्रविन्दुमा छ । अक्टोबरको चुनावमा बेन्जामिन नेतन्याहुलाई हटाउन खोजिरहेका इजरायली पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले हालै कतारलाई शत्रु राज्य घोषित गर्ने वकालत गरेका छन् । उनले धेरै इजरायली ‘इन्फ्ल्युएन्सर’ र ‘अनुसन्धान संस्था’ले दोहाबाट रकम लिने गरेको आरोपसमेत लगाएका छन् । यो बेनेटको नेतन्याहुलाई पछार्न खोज्ने राजनीतिक रणनीतिसँग मिल्छ ।
तर, इजरायल र कतार निकटभविष्यमै पूर्ण रूपमा शत्रु बन्ने सम्भावना कम छ । एक दशकभन्दा बढी समयदेखि इजरायलले हमाससँग सम्पर्कको माध्यमका रूपमा दोहाको प्रयोग गर्दै आएको छ । ७ अक्टोबर २०२३ को आक्रमणले यो सम्बन्धलाई थप विवादास्पद बनाए पनि यसलाई पूर्ण रूपमा अन्त्य भने गरेन । यसैबिच, कतारले गाजा क्षेत्रको वर्तमान र भविष्यमा आफूलाई एक प्रमुख भूमिका निर्वाह गर्ने पक्षका रूपमा स्थापित गरेको छ । धरातलीयस्तरमा आफ्नो प्रभाव कायम राख्न कतारले इजरायलसँग कम्तीमा उच्च तहमा भए पनि सुमधुर सम्बन्ध बनाएर राख्नु आवश्यक छ । छोटकरीमा भन्नुपर्दा सार्वजनिक रूपमा बढ्दो आपसी शत्रुताका बाबजुद (हालै कतारी अधिकारीले पनि इजरायलको आलोचना बढाएका छन्) दुवै मुलुकलाई अझै पनि एकअर्काको आवश्यकता छ ।
आज उनीहरूको सम्बन्धमा देखिएको शत्रुताले यसको एकदमै भिन्न विगतलाई ओझेलमा पारेको छ । सन् १९९० को दशकमा दोहा ठिक उल्टो कारणले गर्दा अरूभन्दा भिन्न देखिन्थ्यो, इजरायल अन्य कुनै पनि खाडी मुलुकको तुलनामा कतारसँग बढी नजिक थियो । सन् १९९५ मा सेख हमाद बिन खलिफा अल थानीले अमिरको (शासक)का रूपमा सत्ता सम्हालेको केही समयपछि नै कतारले इजरायललाई व्यापारिक कार्यालय खोल्ने अनुमति दियो । त्यसको एक वर्षपछि इजरायली प्रधानमन्त्री सिमोन पेरेसले कतारको भ्रमण गरे र इमिरसँग भेटवार्ता गरे । सन् २००० को दशकको सुरुतिर ‘दोस्रो इन्तिफादा’ (प्यालेस्टिनी विद्रोह) सुरु भएपछि उनीहरूको सम्बन्धमा असर पर्यो । तैपनि, सम्बन्ध कायम नै रह्यो । सन् २००८ सम्म आइपुग्दा पनि इजरायली विदेशमन्त्री जिपी लिभ्नीले दोहामा आयोजित एक सम्मेलनमा मुख्य सम्बोधन गरेकी थिइन् । यसलाई ‘मध्यमार्गी अरब राष्ट्र’सँग सम्बन्ध स्थापना गर्ने प्रयासको एक हिस्साका रूपमा लिइएको थियो, जुन आजका मुख्य धाराका इजरायली राजनीतिज्ञले कतारबारे गर्ने टिप्पणीभन्दा निकै भिन्न कुरा हो ।
त्यसपछिका घटनाक्रमले खुला सम्बन्ध विस्तारको प्रक्रियालाई अवरुद्ध पारे । पहिलो घटना सन् २००७ मा हमासद्वारा गाजापट्टीमाथि नियन्त्रण कायम गर्नु थियो । यसलाई अमेरिका र इजरायलले एउटा संकटको रूपमा हेरे । यसको विपरीत, कतारले गाजाको नयाँ यथार्थलाई इजरायली–प्यालेस्टिनी द्वन्द्वमा आफ्नो कूटनीतिक भूमिका र प्रभाव विस्तार गर्ने अवसरका रूपमा लियो । तदनुरूप, कतारले इजरायलसँगको सार्वजनिक संलग्नताबाट पछि हट्दै हमाससँग खुला रूपमा सम्बन्ध विकास गर्ने रणनीतिक परिवर्तन अपनायो । हमासको नियन्त्रणपछि गाजाको भ्रमण गर्ने सेख हमाद विश्वका पहिलो नेता बने । सन् २०१२ र २०१४ मा गाजामा भएका द्वन्द्वपछि दोहा गाजामा पुनर्निर्माण र मानवीय सहायताका लागि प्रमुख बाह्य आर्थिक स्रोत उपलब्ध गराउने पक्ष बन्यो । यसले कतारलाई इजरायल र गाजाबिच उत्पन्न हुने तनाव वा द्वन्द्वमा मध्यस्थता गर्ने इजिप्टको परम्परागत भूमिकालाई चुनौती दिने अवसर प्रदान गर्यो ।
यद्यपि, इजरायलका धेरै दाबीको विपरीत कतारले गाजामा लगानी गरेको एक अर्ब डलरभन्दा बढी रकम सिधै हमासलाई दिइएको थिएन । कतारी अधिकारीले उक्त रकम गाजाका सर्वसाधारणको आवश्यकता पूरा गर्न खर्च गरिएको कुरा स्पष्ट पार्न विशेष जोड दिए । सुटकेसमा राखेर गाजा पठाइएको रकमको केही हिस्सा हमासले हिनामिना गरेको भन्ने आलोचनाको जवाफमा कतारले पछि रकम पठाउने विधि परिवर्तन गरी बैंकमार्फत रकम पठाउनुका साथै इन्धन र मानवीय सहायताजस्ता सामग्री सिधै उपलब्ध गराउने व्यवस्था गर्यो । अझ विवादित विषय त के थियो भने कतारले गाजाका निजामती कर्मचारीको तलबका लागि रकम उपलब्ध गरायो । पछि इजरायलले तीमध्ये धेरैजसो हमाससँग आबद्ध रहेको दाबी गर्यो । कतिपय टिप्पणीकारको तर्क छ कि यदि त्यो रकम हमासको सैन्य शाखामा नगएको भए पनि कतारी कोषले उक्त क्षेत्रको यथास्थिति कायम राखेर समूहलाई सत्तामा टिकाइराख्न मद्दत गर्यो । यसविपरीत कतारको तर्क भने मानवीय संकट टार्न र हमासलाई नभई गाजालाई सहयोग गर्न आफूले रकम उपलब्ध गराएको भन्ने थियो ।
निर्विवाद कुरा के हो भने यी सबै कार्यमा इजरायल र संयुक्त राज्य अमेरिका दुवैको सहमति थियो । सन् २०१२ मा ओबामा प्रशासनको अनुरोधमा कतारले हमासको निर्वासनमा रहेको राजनीतिक नेतृत्वलाई आश्रय दिन मन्जुर गर्यो । यसको उद्देश्य अनौपचारिक संवादको माध्यम खोल्नु र उक्त समूहको दृष्टिकोणमा नरमपन ल्याउन सकिन्छ कि भनेर बुझ्नु थियो । साथै, आफूलाई ‘आतंकवादको प्रायोजक’को बिल्ला नलाग्ने अमेरिकी सुनिश्चितता पाएपछि मात्र कतारले गाजालाई रकम उपलब्ध गराउन थालेको थियो । इजरायलले नाकाबन्दी गरेको उक्त क्षेत्रमा पैसा र सहायता पुर्याउनेलगायत काममा प्रत्यक्ष रूपमा सहजीकरण गरेको थियो । सन् २०२० को सुरुतिर नेतन्याहुले मोसादका निर्देशक योसी कोहेनलाई दोहा पठाएर कतारीलाई भुक्तानी जारी राख्न मनाएका थिए । त्यसपछि भुक्तानी रकम बढाइएको थियो ।
आपसी स्वार्थको मेलले यो नयाँ परिपाटीलाई अघि बढाएको थियो । हमाससँगको सम्बन्ध वैचारिकभन्दा पनि कतारको त्यो बृहत् रणनीतिको हिस्सा थियो, जसअन्तर्गत उसले अन्य मुलुकले ‘अस्वीकार्य’ वा ‘बहिष्कृत’ ठान्ने पक्षहरूसँग सम्बन्ध विस्तार गर्थ्यो । यसले कतारलाई मध्यस्थकर्ता वा नरम प्रभाव पार्ने शक्तिका रूपमा एक विशिष्ट पहिचान दिलायो । यसले दोहालाई आफ्नो सानो आकारभन्दा धेरै ठुलो प्रभाव जमाउन र विश्वका संवेदनशील क्षेत्रमा हुने घटनाक्रमलाई आकार दिने भूमिका खेल्न सक्षम बनायो । इजरायलको दृष्टिकोणबाट हेर्दा हमासको कब्जापछि गाजालाई आर्थिक सहयोग गर्नुले दुइटा उद्देश्य पूरा गर्थ्यो, गाजापट्टीलाई वेस्ट बैंकबाट भौगोलिक र राजनीतिक रूपमा अलग राख्नु र यथास्थिति कायम राखी उक्त क्षेत्रलाई पूर्ण पतनबाट जोगाउनु ।
यी दुवै प्रकारका धारणा अक्टोबर ७ मा चकनाचुर भए । हमासको नेतृत्वमा भएको आक्रमणले उक्त समूहलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने इजरायलको भ्रम तोडिदियो । यसले कतारको त्यो दाबीलाई पनि कमजोर बनायो कि हमाससँगको संलग्नताले उसलाई नरम बाटोतर्फ डोर्याउनेछ । साथै, यस आक्रमणले हमाससँगको सम्बन्धका कारण कतारलाई अभूतपूर्व छानबिन र आलोचनाको घेरामा ल्याइपुर्यायो । तर, त्यसपछिको युद्धले दोहाले किन सुरुमै त्यस्तो सम्बन्ध विकास गरेको थियो भन्ने कुरा प्रस्ट पार्यो । हमास, इजरायल र संयुक्त राज्य अमेरिकासँगको कतारको विश्वसनीयताले उसलाई असाधारण कूटनीतिक भूमिका निर्वाह गर्न सक्षम बनायो, जसले अन्ततः दुईपटक युद्धविराम गराउन मद्दत गर्यो ।
त्यसपछि ‘कतारगेट’ प्रकरण सार्वजनिक भयो । सन् २०२५ को सुरुतिर इजरायलका विभिन्न सञ्चारमाध्यमले एउटा सनसनीपूर्ण दाबी सार्वजनिक गरे, प्रधानमन्त्रीको कार्यालयमा कार्यरत रहँदा नेतन्याहुका केही सहयोगीले दोहाको छवि र स्वार्थ प्रवर्द्धन गर्न कतारबाट रकम लिएका थिए । कतारले कुनै पनि गलत काम गरेको कुरा अस्वीकार गर्यो, तर यस काण्डले नेतन्याहुका विरोधीलाई आलोचनाका विभिन्न विषयलाई जोड्ने मौका दियो, जस्तै– उनको लामो समयदेखि चलिरहेको भ्रष्टाचारसम्बन्धी मुद्दा, विदेशी सहयोगीसँगको उनको सम्बन्ध र इजरायलमा व्यापक रूपमा हमासको संरक्षक मानिने देशसँग उनको सरकारको कारोबार । यस धारणाअनुसार, नेतन्याहुको कथित संलग्नता भ्रष्टाचारको सीमा नाघेर देशद्रोहको स्तरसम्म पुगेको थियो । तेलअभिभमा ‘बिबी (नेतान्याहु) र कतार इजरायलको विरुद्धमा’ लेखिएका स्टिकर सर्वत्र देखिन थाले ।
फरेन अफेयर्सबाट
(पिनफोल्ड किङ्स कलेज लन्डनमा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी प्राध्यापक हुन् )