गौतमबुद्ध विमानस्थल उद्घाटन हुनासाथ जजिरा एयरवेजले ०७९ भदौदेखि दैनिक रूपमा उडान थाल्यो । तर, यात्रु नपाएपछि असोजदेखि नै सातामा तीन उडान सीमित गर्यो । सोही वर्ष पुसमा पुग्दा उडान नै रोक्यो । तर, फागुनदेखि फेरि सुरु गरेको उडान ०८० वैशाखमै बन्द गर्यो । जजिराले ०८१ कात्तिकमा गौतमबुद्ध विमानस्थलमा पुनः उडान थालेकोमा चार महिनापछि ०८१ चैतदेखि रोक्यो । त्यसपछि अहिलेसम्म उडान गरेको छैन ।
त्यस्तै, थाई एयर एसियाले पनि ०८१ कात्तिकदेखि सातामा दुई दिन बैंकक उडान गर्न थाल्यो । तर, पाँच महिनामै अर्थात् चैतमा रोकियो । ०८२ कात्तिकबाट पुनः उडान थालेको थाईले ०८२ चैतसम्म सेवा दियो, त्यसपछि भने फर्किएको छैन ।
फ्लाई दुबईले पनि ०८१ कात्तिकदेखि दुबई–भैरहवा–काठमाडौं–दुबई गरेर दैनिक उडान थाल्यो । तर, सोही वर्ष चैतदेखि सेवा दिन छाड्यो । कतार एयरवेजले पनि ०८१ कात्तिकदेखि नै दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक उडान थाल्यो, तर मंसिरमै रोकियो ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले ०८० जेठदेखि भैरहवाबाट मलेसिया उडान थालेको थियो भने नेपालकै हिमालयन एयरलाइन्सले पनि ०७९ कात्तिकदेखि मलेसिया उडान थालेको थियो, तर दुवैले निरन्तरता दिएनन् ।
यो विमानस्थलमा आगमन र प्रस्थान गरी सन् २०२२ मा २८२, ०२३ मा ६९, ०२४ मा २९५, ०२५ मा २४७ र ०२६ मेसम्म ६३ उडान भएका छन् । उडान थालेका कुनै पनि वायुसेवा कम्पनीले निरन्तरता नदिएपछि ठुलो खर्चमा निर्माण गरिएको विमानस्थल संकटमा छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यवाहक महाप्रबन्धक श्यामकिशोर शाहले यात्रुको अभावकै कारण अन्तर्राष्ट्रिय विमान कम्पनीले नियमित उडान गर्न नसकेको बताए । ‘विगतमा केही अन्तर्राष्ट्रिय उडान गरे, तर यात्रु कम भएको उनीहरूको गुनासो थियो, अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ,’ उनले भने, ‘जजिरा एयरवेजले त आफैँ पनि मार्केटिङ गरेर सेवा विस्तारमा जोड दिएको थियो, तर निरन्तरता दिन सकेन । यहाँका स्थानीय ट्राभल एजेन्सीले पनि प्रचारप्रसार बढाउन सकेनन् ।’
शाहले विमानस्थलको क्षेत्राधिकार यात्रुको सेवा–सुविधामा मात्रै सीमित भएको गुनासो पनि गरे । ‘हाम्रो क्षेत्राधिकार नै सीमित छ । हाम्रो मुख्य काम यात्रुको सेवा–सुविधा तथा सुरक्षामा केन्द्रित छ । यसमा तयार नै छौँ,’ उनले भने, ‘उडान थप्ने, प्रवर्द्धन गर्ने काम केन्द्रीय कार्यालयबाटै हुन्छ । अन्तर्राष्ट्रिय उडानका लागि केन्द्रीय कार्यालयबाटै प्रयासहरू भइरहेको होला कि !’
पोखरा विमानस्थलमा पनि नियमित उडान छैनन्, चार्टर उडान मात्रै भएका छन् । ६ असार ०८० मा चीनको सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा चार्टर उडान गरेको थियो । सोही वर्ष २३ भदौमा भुटानको डुक एयरले पनि चार्टर उडान गरेको थियो, यो नै पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान थियो । सोही वर्ष २२ कात्तिकमा चिनियाँ सेनाका दुई कार्गो विमान आएका थिए भने ७ मंसिरमा हिमालयन एयरलाइन्सले कुनमिङ–पोखरा चार्टर उडान गर्यो ।
२२ कात्तिक ०८१ मा सिचुवान एयरले कुमनिङ–पोखरा चार्टर उडान गरेको थियो भने सोही वर्ष १३ मंसिरमा भारतबाट निजी जेट आएको थियो । भारतबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको त्यो नै पहिलो उडान थियो । त्यस्तै, ११ पुसमा पूर्ण क्षमतामा १२९ यात्रु बोकेर आएको सिचुवान एयरले सोही वर्ष चैतमा व्यावसायिक चार्टर उडान पनि गरेको थियो । ०८१ चैतदेखि नै हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा सातामा एक उडान सुरु गर्यो, तर निरन्तरता पाउन सकेन । ७ असार ०८२ मा सिचुवान एयरकै र सोही वर्ष २ मंसिरमा भुटान एयरलाइन्सको चार्टर उडान भए । त्यसयता पोखरामा कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन ।
आगामी ७ असोजदेखि भने पोखरामा फ्लाई दुबईले नियमित उडान गर्ने तयारी गरेको छ । दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति लिइसकेको कम्पनीले टिकट बुकिङ पनि खुला गरिसकेको छ ।