दाङमा रासायनिक मलको कालोबजारी गर्नेविरुद्ध मुद्दा दर्ता

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मलमाथि कालोबजारी गरेको अभियोगमा चारजनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा घोराही उपमहानगरपालिका– ७ का ५४ वर्षीय सोहनलाल चौधरी, घोराही– ५, धर्नाका ३८ वर्षीय कृष्णबहादुर चौधरी, बंगलाचुली गाउँपालिका– ५ निवासी ५४ वर्षीय दिवाकर खत्री र सोही ठाउँका ५४ वर्षीय खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत अभियोगपत्र दायर गरेको हो ।

उनीहरूले गएको साउन २८ गते राति करिब ८ बजेतिर घोराही उपमहानगरपालिका– ७, सिसहनियामा रा.१त ४०७८ नम्बरको ट्याक्टरमा डिएपी र युरिया मल ढुवानी गरी बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

ट्याक्टरबाट ५३ बोरा डिएपी र चार बोरा युरिया मल बरामद गरिएको थियो । उक्त मल अजय स्मृति उपभोक्ता सहकारी संस्थाको नाममा ल्याइएको भए पनि लक्षित किसानहरूलाई वितरण नगरी महँगोमा बिक्री गरिरहेको पाइएको प्रहरीको प्रतिवेदनका आधारमा अभियोगपत्र दायर गरिएको हो ।

उनीहरूले उक्त सहकारीका लागि कृषि सामग्री लिमिटेडबाट यसरी मल लिएका थिए । बंगलाचुली गाउँपालिका– ५ स्थित उक्त सहकारीमा उक्त मल नलिएर उनीहरूले घोराहीमै डिएपी दुई हजार नौ सय र युरिया एक हजार पाँच सयमा बिक्री गरेको पाइएको थियो ।

२८ साउनमा उनीहरूले सहकारीका लागि भनेर १३० बोरा डिएपी र १७८ बोरा युरिया लिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।  युरिया ८६६ र डिएपी दुई हजार ३१६ का दरले कृषि सामग्रीबाट लिएका थिए । तर, त्यो मल प्रतिवादी कृष्ण चौधरीको ट्याक्टरमा राखेर यसरी बिक्री गर्न लगिएको थियो । 

यसरी सरकारले तोकेको मूल्यभन्दा निकै बढी रकम असुल गरी कृषकहरूलाई मारमा पारेको प्रमाणहरू फेला परेपछि उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाइएको हो। दायर गरिएको अभियोगपत्रमा प्रतिवादीहरूलाई ऐनबमोजिम कैद र जरिवानाको सजाय गर्न माग गरिएको छ।  साथै, बरामद गरिएको मल जफत गरी सम्बन्धित सहकारी वा कृषि सामग्री कम्पनीमार्फत उचित मूल्यमा किसानहरूलाई बिक्री–वितरण गर्ने व्यवस्था मिलाउनसमेत मागदाबी गरिएको छ।

सुझावित समाचार