मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १९ स्थित वासुदेव खहरेले बगाएर बेपत्ता भएकी अर्की बालिकाको शव फेला परेको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउने बालिकाको संख्या दुई पुगेको छ। अझै एकजना बालिका बेपत्ता छिन्। उनको खोजी भइरहेको छ।
प्रहरीका अनुसार स्थानीय राजकुमार ब्लोनकी १२ वर्षीया छाेरी विनिता ब्लाेनको शव वासुदेव खहरेको बाढीले बगाएर लगेको स्थानदेखि करिब चार किलोमिटर तल वासुदेव र राप्ती खोलाको दोभान क्षेत्रमा फेला परेको हो। खोजीका क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
हिजो मंगलबार साँझ विद्यालय बिदापछि घर फर्कने क्रममा निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चारजना बालिकालाई वासुदेव खहरेमा आएको बाढीले बगाएको थियो । यसअघि हिजै कक्षा दुईमा अध्ययनरत रेशमा स्याङ्तानको शव खोलाबाट करिब पाँच सय मिटर तल फेला परेको थियो । यस्तै, कक्षा ६ की सीमा ब्लाेनलाई घाइते अवस्थामा सकुशल उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
घटनामा बेपत्ता भएकी कक्षा पाँचकी सुमित्रा ब्लाेन अझै सम्पर्कविहीन रहेकी छिन्। उनको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासी परिचालन भएका छन्। उद्धार टोलीले वासुदेव खहरेको बहाव क्षेत्रसँगै राप्ती खोलाको किनारसम्म खोजी अभियान विस्तार गरेको प्रहरीले जनाएको छ।