- बिआइएस प्राप्ति तथा नवीकरणमा ढिलाइ हुँदा आव ०८२/८३ मा सिमेन्टको निर्यात १८ करोडले घट्यो
भारतीय गुणस्तरको झन्झटिलो प्रक्रियाले नेपालको सिमेन्ट निर्यात प्रभावित भएको छ । अधिक मूल्य अभिवृद्धि हुने मिसेन्टको निर्यातलाई सरकार र निजी क्षेत्रले उच्च प्राथमिकतामा राखेको भए पनि भारतीय गुणस्तर चिह्न (बिआइएस)को प्रक्रियागत झन्झटले पछिल्ला दुई वर्षयता सिमेन्टको निर्यात घट्न थालेको हो ।
नेपालका सिमेन्टलगायत अधिकांश वस्तुले भारत निकासीका लागि भारतीय गुणस्तर (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड–बिआइएस) चिह्न लिनुपर्छ । यो भनेको नेपालको नेपाल गुणस्तर चिह्न (एनएस)जस्तै हो । तर, बिआइएस चिह्न हरेक वर्ष नवीकरण गर्नुपर्ने र नवीकरण प्रक्रियाका कारण तीन महिनासम्म निर्यात प्रभावित हुने गरेको व्यवसायीहरू बताउँछन् । यसले गर्दा नेपालको सिमेन्ट निर्यातले अपेक्षाकृत गति लिन नसकेको उनीहरूको भनाइ छ ।
भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यात प्रभावित भएको नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् । ‘बिआइएस एक वर्षको मात्रै दिन थालेको छ । नवीकरण प्रकृयामा नै ढिलाई गरिदिन्छ,’ उनले भने, ‘हाम्रो तानसेन सिमेन्टको बिआइएस पनि एक्स्पायर भएपछि दुई महिना निर्यात प्रभावित भयो, त्यसपछि अहिले निर्यात भइरहेको छ ।’
भारतले नेपाल गुणस्तर चिह्नलाई स्वीकार गर्दैन । त्यसैले हरेक नेपाली वस्तुले भारतीय गुणस्तर चिह्न लिनैपर्छ । गुणस्तर चिह्न दिनका लागि भारतले अधिकृतहरू तोकेर नेपाली उत्पादनको परीक्षणसमेत गर्ने गर्छ । गुणस्तर चिह्नको म्याद सकिएपछि उद्योगीहरूले पुनः एक वर्षको नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । निवेदन दिएपछि भारतले प्रक्रियागत कारण देखाउँदै तीन महिनासम्म समय लिने गरेको छ । जसले गर्दा उक्त अवधिसम्म नेपाली उद्योगले निर्यात गर्न पाउँदैन । यसरी नवीकरण गर्न लाग्ने प्रक्रियागत झन्झटिलो कारणले उद्योगहरूले तीन महिनासम्म निर्यात गर्न नपाउने अवस्था सिर्जना भएको उद्योगीहरू बताउँछन् ।
सरकारले नेपाली उत्पादनका लागि बिआइएस चिह्न दिने तथा त्यसको नवीकरणका गर्ने प्रक्रियालाई सरलीकृत गरिदिन भारतलाई पटक–पटक आग्रह गर्दै आएको छ । पछिल्ला दुई वर्षयता नेपाल–भारत वाणिज्य वार्तामा समेत यो विषय उठ्दै आएको छ । हरेक दुईपक्षीय वार्ता तथा कूटनीतिक भेटघाटमा भारतले बिआइएसलाई सहजीकरण गरिदिने प्रतिबद्धतासमेत गर्दै आएको छ । तर, कार्यांन्वयन भने हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
आर्थिक वर्ष ०८२/८३ मा नेपालले कुल दुई अर्ब ८३ करोड ७९ लाख रुपैयाँबराबरको क्लिंकर तथा सिमेन्ट निर्यात गरेको छ । जुन अघिल्लो आव ०८१/८२ को तुलनामा सात करोड ९५ लाख रुपैयाँले कमी हो । आव आव ०८१/८२ मा दुई अर्ब ९१ करोड ७४ लाख रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । जुन आव ०८०/८१ को तुलनामा ९३ करोड २६ लाखले कमी हो । नेपालबाट सर्वोत्तम, अर्घाखाँची, तानसेनलगायत उद्योगले सिमेन्ट निर्यात गर्दै आएका छन् । बिआइएस चिह्न लिन तथा नवीकरण गर्न सहज हुने भए अन्य उद्योगले पनि निर्यात गर्न सक्ने उद्योगीहरूले बताउँदै आएका छन् ।
नेपाल र भारतबिचको गुणस्तरको मापदण्ड समान नहुँदासमेत समस्या भइरहेको अग्रवालले बताए । ‘नेपालको गुणस्तर भारतको जस्तै बनाउनुपर्ने थियो, तर अन्य देशको हेरेर झन् कडा बनाइयो,’ उनले भने, ‘गुणस्तरको मापदण्ड भएपछि सोहीअनुसार निर्यातका लागि छुट्टै उत्पादन गर्नुपर्छ, लागत बढ्छ ।’
उच्च प्राथमिकता, सुस्त प्रगति
नेपालमा आर्थिक वर्ष ०७८/७९ देखि सिमेन्टको व्यावसायिक निर्यात सुरु भएको देखिन्छ । उक्त आवमा १२ लाख ९३ हजार रुपैयाँबराबरको १५ हजार एक सय ८९ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । सरकारले प्रोत्साहनसमेत उपलब्ध गराउने घोषणा गर्दै सिमेन्ट निर्यातलाई उच्च प्राथमिकतामा राखेको थियो । निजी क्षेत्रका ठुला उद्योगले पनि निकासीका लागि भारतीय गुणस्तरमा समेत सिमेन्टको उत्पादन गर्न, भारतमा आयातकर्ता खोज्न तथा बजारीकरण एवं प्रचारप्रसार गर्न सुरु गरे । आव ०७९/८० मा ७७ करोड ९३ लाखको सिमेन्ट निर्यात भएको थियो । आव ०८०/८१ मा तीन अर्ब ८५ करोड २८ लाखको सिमेन्ट तथा क्लिंकर निर्यात भएको विभागको तथ्यांक छ । तर, भारतले गुणस्तर चिह्न (बिआइएस)को बखडा झिकेर निर्यात अवरोध गरेपछि निर्यात ओरालो लागेको देखिन्छ । आव ०८०/८१ पछि भारतले बिआइएस दिन र त्यसको नवीकरण गर्न कडिकडाउ गर्दै आएको व्यवसायीहरू बताउँछन् ।
साढे पाँच लाख टन क्लिंकर निर्यात
आर्थिक वर्ष ०८२/८३ मा ७९ करोड ७९ लाख २६ हजार रुपैयाँबराबरका पाँच लाख ६१ हजार एक सय १२ टन क्लिंकर र दुई अर्ब तीन करोड ६१ लाख २९ हजार रुपैयाँबराबरका नौ लाख २३ हजार तीन सय ७६ टन सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । त्यसअघि आव ०८१/८२ मा ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँबराबरका चार लाख ९० हजार दुई सय ७२ टन क्लिंकर र दुई अर्ब २१ करोड ९४ लाख १८ हजार रुपैयाँबराबरका तीन लाख ५६ हजार चार सय ७३ टन सिमेन्ट निर्यात भएको थियो ।