गत महिना भएका साम्प्रदायिक घटना नियन्त्रणमा कमजोरी देखिएको भन्दै सुनसरी र सिराहाका सिडिओलाई कारबाही सिफारिस भएको छ । गृह मन्त्रालयले गठन गरेको दुई समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै सिडिओ तथा सुरक्षाकर्मीलाई कारबाही सिफारिस गरेको हो ।
सुनसरीका तत्कालीन सिडिओ बासुदेव घिमिरे तथा सिराहाका सिडिओ सुरेन्द्र पौडेललाई कारबाही स्वरूप सचेत गराउन सिफारिस गरिएको छ । सुनसरीका सिडिओ ११ साउनमै सरुवा भइसकेको छ भने सप्तरीमा भने पौडेल नै कायम छन् । साथै, गोली प्रहारको घटनामा संलग्न प्रहरीमाथि पनि कारबाही सिफारिस भएको छ ।
सुनसरीको कप्तानगन्जमा गत १० साउनमा भएको घटनामा प्रहरीको गोलीबाट तीनजनाको मृत्यु भएको थियो । घटनामा २० राउन्ड गोली प्रहार भएको र बल प्रयोगको सिद्धान्तविपरीत गोली प्रहार भएको निष्कर्ष सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले निष्कर्ष निकालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुवैले कप्तानगन्जमा गोली हानेका थिए ।
सिराहाका एसपी बासुदेव पाठकसहित डिएसपी रमेशबहादुर पाल तथा इन्स्पेक्टर सुमन नेपालीलगायतलाई कारबाही सिफारिस भएको छ । सिराहामा सहसचिव पुष्पराज शाही नेतृत्वको टोलीले सिराहा छानबिन गरेको थियो । सिराहामा १४ साउनमा प्रहरीको गोली प्रहारबाट गणेश यादबको मृत्यु भएको थियो । दुवै छानबिन समितिले आगामी दिनमा यस्ता घटना हुन नदिन विभिन्न सुझाव दिएको छ ।