ताप्लेजुङमा गत वर्षको तुलनामा यस वर्ष साढे १३ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ भएको छ। आवश्यक समयमा पर्याप्त वर्षा भएपछि गत वर्ष रोपाइँ हुन नसकेको क्षेत्रमा समेत यस वर्ष रोपाइँ भएको हो।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा धाान खेती हुने कुल क्षेत्रफलको ९८.५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। जिल्लामा धान खेती हुने पाँच हजार ६६६ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ५८१ हेक्टरमा रोपाइँ भएको केन्द्रका प्रमुख एवं कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिए।
गत वर्ष धान खेती हुने क्षेत्रको ८५ प्रतिशत अर्थात् चार हजार ७९८ हेक्टरमा मात्रै रोपाइँ भएको थियो। यस वर्ष गत वर्षभन्दा ७८३ हेक्टर बढी क्षेत्रमा धान रोपाइँ भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख श्रेष्ठले गत वर्ष धान रोप्ने मुख्य समयमा पर्याप्त वर्षा नहुँदा ठुलो क्षेत्रफलमा रोपाइँ हुन सकेको थिएन। यस वर्ष सुरुमा वर्षा केही कम भए पनि धान रोप्ने मुख्य समयमा पर्याप्त पानी परेपछि किसानले समयमै रोपाइँ गर्न सकेका हुन्।
गत वर्ष रोपाइँ नभएकामध्ये करिब १० प्रतिशत क्षेत्रमा सिँचाइँको अभाव र पाँच प्रतिशत कामदारको अभावका कारण रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस वर्ष भने वर्षाको अनुकूलताका कारण सिँचाइँको समस्या तुलनात्मक रूपमा कम भएको छ। जिल्लामा अझै करिब डेढ प्रतिशत अर्थात् ८५ हेक्टर क्षेत्रमा रोपाइँ हुन बाँकी छ। भदौको पहिलो सातासम्म किसानले धान रोप्ने भएकाले बाँकी क्षेत्रमध्ये अधिकांशमा रोपाइँ हुने कृषि ज्ञान केन्द्रका प्रमुख श्रेष्ठले बताए। काम गर्ने जनशक्तिको अभावका कारण करिब एक प्रतिशतसम्म खेतीयोग्य जमिनमा रोपाइँ हुन नसक्ने केन्द्रले बताएको छ।
हिमाली जिल्ला भएकाले भौगोलिक अवस्थाअनुसार फरकफरक समयमा धान रोपाइँ हुने गरेको छ। लेकाली क्षेत्रमा जेठको तेस्रो साताबाट रोपाइँ सुरु हुन्छ भने असारको पहिलो साताभित्र सक्ने गरिएको छ। तर, मध्य भागमा साउनको पहिलो सातासम्म र औल तथा बेँसीक्षेत्रमा भदौको पहिलो सातासम्म पनि रोपाइँ हुने गरेको किसान रुद्र मादेनले बताए। जिल्लाका अधिकांश क्षेत्रमा बेलगुटी, भँगेरे, खुम्मलचार र अट्टेजस्ता पुराना रौथाने जातका धान उत्पादन हुने गरेको छ।