एमालेले बागमतीमा थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनायो, संसदीय दलको नेतामा थपलिया यथावत्

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

एमालेले बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ। संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई यथावत् राख्दै एमालेले मुख्यमन्त्रीका लागि पूर्वस्वास्थ्यमन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले नेतृत्व र सरकार गठन दुवै विषयलाई एकैसाथ सम्बोधन गर्ने गरी यस्तो निर्णय गरेको हो। यससँगै केही सातादेखि चुलिएको संसदीय दलभित्रको नेतृत्व विवाद अन्त्य भएको छ।

यसअघि संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस उत्कर्षमा पुगेको थियो। थापा पक्षले दलको नेता परिवर्तन गरेर मुख्यमन्त्रीको उम्मेदवार बनाउने रणनीति अघि सारे पनि अन्ततः शीर्ष नेतृत्वले दलको नेतृत्व र सरकारको नेतृत्व अलग–अलग राख्ने सहमतिमार्फत विवाद समाधान गरेको हो।

बैठकअघि एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, संसदीय दलका नेता थपलिया, मुख्यमन्त्रीका आकांक्षी किरण थापालगायत नेताबिच लामो छलफल भएको थियो। छलफलपछि संसदीय दलको बैठक बसेर सहमतिलाई औपचारिकता दिइएको हो।

सुझावित समाचार