रोल्पा अस्पतालमा गएको एक महिनादेखि अवरुद्ध रहेको जटिल प्रसूति सेवा तथा सामान्य शल्यक्रिया सेवा पुनः सञ्चालन भएको छ । निक साइमन इन्स्टिच्युटले असार मसान्त सकिएसँगै रोल्पा अस्पतालमा उपलब्ध गराउँदै आएको एमडिजिपीसहितको चिकित्सकीय सेवा फिर्ता लिएपछि साउन १ गतेदेखि शल्यक्रिया सेवा रोकिएको थियो।
रोल्पा अस्पतालमा कन्सल्टेन्ट जनरल फिजिसियन डा. सुरज पोखरेल, कन्सल्टेन्ट एमडिजिपी डा. प्रदीप चालिसे र एनेस्थेसिया असिस्टेन्ट बालकुमारी रानामगर आएसँगै सोमबारदेखि सेवा सञ्चालन भएको सूचनामार्फत जानकारी गरिएको हो।
अन्य मेडिकल अधिकृतहरूबाट सेवा नियमित गर्न सकिने भए पनि एनेस्थेसिया असिस्टेन्ट नहुँदा बिरामीलाई बेहोस बनाउन समस्या भएको र त्यसैकारण पनि शल्यक्रियाका कामहरू अवरुद्ध भएका थिए । सोमबारदेखि भने जटिल प्रकृतिका प्रसूति तथा अन्य शल्यक्रिया सेवा सुरु भएको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिए ।