उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार स्कारपियो भीमफेदीमा दुर्घटना

मुख्य न्यायाधीशसहित ६ जना घाइते, एकजना महिलाको अवस्था गम्भीर

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण
  • स्कारपियोमा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश, रजिस्ट्रार, चालकसहित ६ जना सवार

उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका– ६, जुरीखेतमा दुर्घटना भएको छ । मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छिन् भने अन्य पाँचजना मध्यम घाइते छन् ।

काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो आज बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको छ ।

दुर्घटनामा परेकाे स्कारपियोमा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश, रजिस्ट्रार, चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य पाँचजनाको अवस्था मध्यम रहेको छ । 

घाइते हुनेहरूमा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडू, निजकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडू, निजको छोरा वर्ष २५ को रितेन्द्र बडू र वर्ष ३१ वर्षीया रिता बडू रहेको प्रहरीले जनाएको छ । यसैगरी दाङ राप्ती नगरपालिका– ८ का चालक वर्ष ३२ का छुनिलाल चौधरी पनि घाइते भएका छन् । 

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सातजनाको टोली घटनास्थलमा पुगेर सबै घाइतेको उद्धार गरिएकाे छ । उनीहरूलाई भीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार