कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहको राष्ट्रिय सम्मेलनले पारित गरेका प्रस्ताव र नीति पार्टीको आधिकारिक धारणा नरहेको स्पष्ट पारेको छ । १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षले ‘सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ प्रतिबद्धता जनाएको भोलिपल्ट केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले आफ्नो धारणा स्पष्ट पारेको हो । यद्यपि, अहिले कांग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन छ ।
पार्टी मुख्यालय सानेपामा बसेको बैठक समापन गर्दै सभापति गगन थापाले सुकेधारामा भएको भेलाबाट पारित निर्णयलाई कांग्रेसको आधिकारिक नीतिका रूपमा नबुझ्न आग्रह गरे । कांग्रेस आफ्नो संवैधानिक तथा सामाजिक दायित्वबाट विचलित नहुने पनि उनले स्पष्ट पारे । ‘कुनै पनि भेलामा प्रस्तुत विचार र त्यहाँ पारित नीति पार्टीको नीति वा अंग बन्दैन । भेलाका ती निर्णय स्वीकार्य हुँदैनन्,’ सभापति थापाले भने, ‘नेताहरू सहभागी भएको भेलाले पारित गरेका प्रस्ताव हामी सुन्छौँ । भेला गर्ने अधिकारको पनि सम्मान गर्छौँ । रचनात्मक बहसका लागि पनि खुला छौँ । तर, त्यो पार्टीको नीति वा अंग चाहिँ हुनै सक्दैन ।’
सभापति थापाले इतर समूहको भेलामा उठेका हरेक विषयलाई आफूले ध्यानपूर्वक सुनेको बताए । तर, कांग्रेसको आधिकारिक धारणामा कुनै परिवर्तन नआएको उनले स्पष्ट पारे । पार्टीका नीति र विचार महाधिवेशन वा महासमिति बैठकमा खुला रूपमा राख्न सकिने उनको भनाइ छ । ‘कांग्रेसको आधिकारिक धारणा हिजो जे थियो, आज पनि त्यही हो । १४औँ महाधिवेशन, महासमिति बैठक, विशेष महाधिवेशन हुँदै निर्वाचन घोषणा–पत्रसम्म हाम्रा धारणा प्रकट भएका छन्,’ थापाले भने, ‘जहाँसम्म भिन्न मतको विषय छ, पार्टीमा भिन्न मत हुन्छ नै । हिजो महासमिति बैठकमा पनि भिन्न मत प्रकट भएका थिए । १६ असोजबाट सुरु हुने १५औँ महाधिवेशनमा पनि सबै विचारलाई स्वागत गर्छौँ ।’
कांग्रेसप्रति समाजको विशेष दायित्व रहेको उल्लेख गर्दै थापाले इतिहासले दिएको जिम्मेवारीअनुसार समाजका सबै पक्षलाई मिलाएर लैजाने भूमिका पार्टीले भुल्न नहुने बताए । ‘नेपालमा संविधान छ, संविधानप्रति हामीले ओनरसिप राखेका छौँ । समाजप्रतिको हाम्रो ठुलो जिम्मेवारी छ,’ उनले भने, ‘कांग्रेसले तत्कालको फाइदाका लागि दृष्टिकोण बनाउनेभन्दा इतिहासले दिएको जिम्मेवारी र समाजमा सबैलाई मिलाएर लैजाने मूल शक्ति भएको कुरा हेक्का राखेर छलफल गर्नुपर्छ ।’ १५औँ महाधिवेशनमा ‘अबको दशक देश, कांग्रेस र लोकतन्त्र’ विषयमा प्रतिवेदन आफूले राख्ने जानकारी पनि उनले दिए ।
१६ असोजमै महाधिवेशन
थापाले कांग्रेसको महाधिवेशन तोकिएकै मिति १६ असोजमा सुरु हुने बताएका छन् । मिति तय भइसकेकाले अब कुनै पनि बहानाबाजी नचल्ने उनले दाबी गरे । ‘किन्तु, परन्तुविनै असोज १६ गते महाधिवेशन सुरु हुन्छ । यो तिथि अब कुनै पनि हालतमा तलमाथि हुँदैन । भोलिबाटै अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ,’ थापाले भने ।
उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न निर्देशन पनि दिए । पार्टीमा गुटगत भागबन्डा नहुने दाबी गर्दै थापाले विशेष र नविशेष भनेर विभेद नगरिने स्पष्ट पारे । अधिवेशन प्रक्रियाबाट कोही पनि नछुटुन् भनेर आवश्यक पहल गरिरहेको पनि बताए । ‘अझै पनि साथीहरू नछुट्नुस् भनेर हामीले आग्रह गरेका छौँ । राजनीतिक असहमति राख्न पाउनुहुन्छ । अधिवेशनको प्रक्रिया रोकिदिन्छु भन्नचाहिँ पाइँदैन,’ सभापति थापाले भने ।
अधिवेशनलाई मर्यादित र धाँधलीरहित बनाउन तयार रहेको पनि उनले बताए । ‘अधिवेशनका लागि के–के विषय मिलाउँदा स्वच्छ र निष्पक्ष हुन्छ, त्यो गर्न म तयार छु । तर, तपाईंहरू अधिवेशनमा आउनुपर्छ,’ उनले भने ।
विपक्षमा फैसला आएको भए भागबन्डा चाहियो भन्दिनथेँ
सर्वोच्च अदालतले विशेष महाधिवेशनको विपक्षमा फैसला गरेको भए आफूले भागबन्डा नमाग्ने सभापति थापाले बताए । बरु छिटो महाधिवेशन गरेर निष्पक्ष रूपमा सम्पन्न गर्न आग्रह गर्ने उनको भनाइ छ । ‘विपक्षमा फैसला आएको भए मलाई यति भागबन्डा चाहियो भन्दिनथेँ । चाँडो महाधिवेशन गरिदिनुस्, निष्पक्ष महाधिवेशन गर्नुस्, म सभापतिको उम्मेदवार हुँ, तपाईंहरूबाट को आउने हो आउनुस् भन्थेँ,’ थापाले भने ।
विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिलाई फर्जी महाधिवेशन प्रतिनिधि भनेर अपमान नगर्न पनि उनले आग्रह गरे । विशेष महाधिवेशनमा सहभागी नभएका व्यक्तिहरू पनि अहिले केन्द्रीय समितिमा रहेको उनले बताए । निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न सदस्यता छानबिन समिति गठन गर्न र त्यसमा इतर पक्षका नेतालाई समेत राख्न आफू तयार रहेको थापाले बताए ।
पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश गर्दैन भन्ने विश्वास छ
थापाले पार्टीको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश नगर्ने विश्वास व्यक्त गरेका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा पुगे पनि न्यायालयले न्यायिक संयमता अपनाउने उनको अपेक्षा छ । ‘अदालतमा यो (पार्टीको आधिकारिकता) विषय गएको छ । पुनरवलोकनको विषय छ । अदालतप्रति विश्वास छ र निर्णय मान्नुपर्छ । विशेष महाधिवेशन आधिकारिक हो भन्नेमा केही तलमाथि भएको छैन । अदालतमा पर्याप्त बहस भएरै विगतमा फैसला आएको हो,’ थापाले भने ।
पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा सर्वोच्च अदालत प्रवेश गर्नु न्यायिक संयमताविपरीत हुने उनको भनाइ छ । ‘म विश्वास गर्छु– पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा सम्मानित सर्वोच्च अदालत प्रवेश गर्दैन । त्यो न्यायिक संयमताभित्र पर्दैन,’ उनले भने, ‘अदालतको प्रक्रियालाई भने हामी सम्मान गर्छौँ ।’
देउवा दाइ, हिजो आफ्नैले डुबाए, फेरि डुबाउँछन्
सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई निकटस्थहरूबाट सतर्क रहन आग्रह गरेका छन् । देउवालाई सही सल्लाह दिनुभन्दा आफ्नै स्वार्थअनुसार प्रभावित गर्नेहरू हाबी भएको उनको आरोप छ । ‘देउवा दाइ सभापतिको नेमप्लेट राखिदिएका छन्, त्यसमा मेरो केही गुनासो छ । जसले वरिपरि बसेर धूप बाले, ती तपाईंलाई आफ्ना लागे । ती आफ्नैले तपाईंलाई डुबाए दाइ, फेरि डुबाउँछन् । मेरो चिन्ता यही हो,’ थापाले भने ।
१५औँ महाधिवेशनमा देउवालाई सम्मानका साथ बिदाइ गर्न चाहेको उनले बताए । कार्यकारी भूमिकाभन्दा माथि उठेर देउवालाई अभिभावकीय भूमिकामा देख्न चाहेको थापाको भनाइ छ । ‘हामी चाहन्छौँ– १५औँ महाधिवेशनमा शेरबहादुर देउवालाई निवर्तमान सभापतिका रूपमा विशेष अतिथिका रूपमा सम्मान गर्न पाइयोस्,’ उनले भने ।
विशेष महाधिवेशनकै दिन बिहान आफू र महामन्त्री विश्वप्रकाश शर्मा देउवालाई भेट्न गएको स्मरण गर्दै थापाले त्यसवेला पनि देउवालाई गलत सूचना दिइएको दाबी गरे । ‘त्यस दिन बिहानै म र विश्वप्रकाश शर्मा पुगेका थियौँ । हामी केही कुरा भन्न चाहन्थ्यौँ । तर, त्यो दिन पनि ‘सबै मिलिसक्यो दाइ, यी दुई केटालाई ठोके हुन्छ’ भनिदिए । भएन, फेरि ढाँटे,’ थापाले भने, ‘दाइ, तपाईंलाई टिकट नदिए म चुनाव लड्दिनँ’ भनेर कोही आएन । मेरो दाइलाई टिकट नदिए म लड्दिनँ भन्न कोही आएन । धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो अनि ‘दाइ तपाईं नहुनाले’ भन्दै छन् । ढाँटे दाइ ।’
अहिले पनि केही नेताले देउवालाई ढाँटिरहेको भन्दै थापाले सचेत रहन आग्रह गरे । देउवालाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजिएको उनको आरोप छ । ‘अहिले जसले नेमप्लेट टाँसिरहेका छन्, उनीहरू कसैले पनि देउवाका लागि केही गर्नुपर्छ भनेर मलाई भनेनन् । हामीलाई मिलाए पुग्छ,’ भने । अहिले ‘तपाईं सभापति नभईकन हुँदैन’ भनेछन्, फेरि ढाँटे दाइ,’ थापाले भने, ‘एक–दुई कुरा तपाईंले बोलिदिनुभयो भने सबै कुरा मिल्छ, अदालत पनि मिलाइसक्यौँ, एक–दुई विषय एकचोटि होइन, तीनचोटि बोलेपछि मिल्छ भनेर तपाईंलाई भनिदिए । दाइ, ढाँटे दाइ । तपाईंप्रति मेरो सम्मान छ, पूर्वसभापति हुनुहुन्छ ।’