नेपाल आयल निगमका अनुसार देशभर खाना पकाउने एलपी ग्यासको बिक्री-वितरणमा उल्लेख्य सुधार आएको छ। भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको विवरणअनुसार पछिल्ला दिनको तुलनामा बिक्री तथा वितरण बढेको हो।
निगमका अनुसार सोमबार काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री भएको छ। उपत्यकाबाहेक अन्य जिल्लामा भने ७५ हजार १५८ सिलिन्डर ग्यास वितरण गरिएको छ।
काठमाडौं उपत्यकामा यो हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री भएको निगमले जनाएको छ। बजारमा देखिएको ग्यास अभाव क्रमशः सहज हुँदै गएको निगमका निर्देशक विनीतमणि उपाध्यायले जानकारी दिए।
आपूर्ति प्रणाली र वितरण व्यवस्थामा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव थप कम हुँदै जाने अपेक्षा गरिएको निगमले जनाएको छ।