एनआइसी एसिया बैंकले तीनवटा भिन्दाभिन्दै संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ताथली, चाँगुनारायण नगरपालिका, भक्तपुरस्थित विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र, पालडाँडा, नवलपरासीस्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम मावि र ठोकर्पा, सुनकोशी गाउँपालिका– १, सिन्धुपाल्चोकस्थित बाघभैरव माविलाई सहयोग गरेको हो । विद्यालयमा विद्यार्थीको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले शान्ति निकुञ्ज रेवती गौमाता गौतम माविलाई डिजिटल बोर्ड प्रदान गरेको छ । बैंकका सुनवल सर्कल हेड तिलकराम खनाल तथा बर्दघाट शाखा प्रमुख प्रेम पौडेलले विद्यालयलाई सहयोग हस्तान्तरण गरे । त्यसैगरी, विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रद्वारा सञ्चालित अटिजम स्कुल भवन सञ्चालनका लागि विद्युतीय प्रणाली (वायरिङ) र भवनभित्र रङरोगनका लागि पनि बैंकले सहयोग प्रदान गरेको हो । बैंकका काठमाडौंपूर्वका सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसले उक्त केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई सहयोग हस्तान्तरण गरे ।
साथै, बाघभैरव माविमा अध्ययनरत विद्यार्थीलाई झोला र प्रोजेक्टर प्रदान गरिएको छ । बनेपा सर्कल हेड अमृतमान श्रेष्ठ र इएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्यालले ती शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।