तीन वर्षअघि नै भूकम्पले चिराचिरा पारेको थियो रिसाङको जमिन
१७ कात्तिक ०८० मा गएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका– २, रिसाङ र आसपासको भूगोल चिराचिरा पारेको थियो । घरहरू भत्किएका थिए, पशु चौपाया मरेका थिए, धन्न मान्छे जोगिएका थिए । त्यसयता उक्त क्षेत्रमा पटक–पटक सानातिना पहिरो गएर जोखिमको संकेत गरिरहे पनि सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण नहुँदा शनिबार पहिरोले मानवीय क्षति नै निम्त्यायो । रिसाङ र आसपासमा पहिरोमा परी चारजनाको ज्यान गएको छ भने १० घाइते भएका छन् । भूकम्पले क्षतिग्रस्त घरसमेत पुनर्निर्माण नहुँदा अस्थायी टहरामै बस्दै आएका परिवारलाई पहिरोले थप बिल्लीबाठ पारेको छ ।
भूकम्पको दुई महिनापछि नै रिसाङमा सुक्खा पहिरो गएको थियो । स्थानीय सडक र खानेपानीमा क्षति पु¥याएको थियो । अर्को वर्ष ०८१ मा पनि ठाउँठाउँमा पहिरो खसेको थियो । तर, सरकारका कुनै पनि नियकाले जुनकुनै वेला जनधनमा पर्न सक्ने क्षतितर्फ चासो नै दिएनन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत २९ असारमा मात्रै यहाँको भूगर्भीय अवस्था जोखिमपूर्ण रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र भेरी नगरपालिकालाई सचेत गराएको थियो । भेरी नगरपालिकाका केही स्थानमा गरिएको भौगर्भिक अध्ययन प्रतिवेदनका आधारमा प्राधिकरणले आवश्यक सावधानी र दीर्घकालीन रोकथामका उपायबारे पनि सुझाव दिएको थियो ।
रिसाङलगायत बस्तीमा बाटो धसिने, जमिनमा चिरा पर्ने, रुखहरू ढल्किनेजस्ता अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा नयाँ बस्ती विस्तार, सडक, भवन र अन्य भौतिक पूर्वाधारण निर्माण गर्दा भूगर्भीय अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूको सुझाव छ । तर, प्रतिवेदन कार्यान्वयन प्रक्रियामै गएको छैन भने रिसाङ र आसपासको क्षेत्र पहिरोपीडित बनेको छ ।भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भूकम्पपछि धेरै ठाउँमा जमिन चर्किएकाले वर्षा सुरु भएपछि कुन बस्तीमा पहिरो खस्छ भन्ने त्रासमा स्थानीयले रात बिताउने गरेको बताए ।
०००
शनिबार दिउँसोसम्म रिसाङका मानिसको दैनिकी विगतझैँ सुरु हुँदै थियो । कोही खेतबारीमा, कोही घरायसी काममा व्यस्त थिए । अपराह्न करिब ४ बजेतिर एक्कासि मुसलधारे पानी पर्न थाल्यो । केही समयमै जमिन थर्किन थाल्यो । बस्तीका विभिन्न ठाउँमा एकपछि अर्को गर्दै पहिरो खस्न थालेपछि गाउँमा भागदौड मच्चियो ।
ज्यान जोगाउन मानिसहरू घरबाट निस्किएर सुरक्षित स्थानतर्फ दौडिन थाले । भाग्ने क्रममा केही घाइते भए भने कतिपयलाई माथिबाट आएको पहिरोले थिच्यो । घरभित्र बस्ने अवस्था थिएन । वरिपरि पहिरोको डर थियो । कहाँबाट जमिन खस्छ भन्ने कुनै ठेगान थिएन । बालबालिका, वृद्धवृद्धा र महिलासहित स्थानीय खुला चौरमा जम्मा भए । कसैको शरीरमा लगाउने लुगाबाहेक केही थिएन । कसैको घर पहिरोले पुरिएको थियो, कसैको घर चर्किएको थियो । घरमा राखेको अन्न, कपडा र दैनिक आवश्यकताका सामानसमेत छाडेर उनीहरू ज्यान जोगाउन बाहिरिएका थिए ।
भेरी नगरपालिका– २ का बिर्खबहादुर कार्कीका अनुसार विपत्का वेला स्थानीयले आफूले पहुँच पुर्याउन सकेका ठाउँमा फोन गरेर उद्धारका लागि हारगुहार गरेका थिए । ‘फोन गरेर बचाइदिनुपर्यो भनेर आग्रह गरिरहेका थियौँ,’ उनले भने । तर, त्यसवेला उनीहरूका लागि फोन पनि भरपर्दो सहारा बन्न सकेन । गाउँमा सञ्चारको भरपर्दो नेटवर्क थिएन । विद्युत् थिएन । चारैतिर अँध्यारो थियो । सिमसिम पानी परिरहेको थियो । पहिरोको आवाजसँगै रात बितिरहेको थियो । न खानाको ठेगान, न सुत्ने ठाउँ । खुला चौरमा बसेका स्थानीय हरेक आवाजसँग झस्किन्थे । कतै फेरि पहिरो खस्यो कि ? कतै अर्को घर पुरियो कि ? कतै आफन्त नै संकटमा परे कि ?
बालबालिका आमाको काखमा टाँसिएर बसे । वृद्धवृद्धा चिसो र पानी सहँदै रात कटाउन बाध्य भए । धेरैका आँखामा निद्रा थिएन । रातभर जाग्राम बसेका उनीहरू बिहानको उज्यालो पर्खिरहेका थिए । वर्षौँ लगाएर बनाएको घर पहिरोको जोखिममा परेपछि स्थानीयका लागि घरभन्दा ज्यान जोगाउनु ठुलो भयो ।
भूकम्पको पीडा नबिर्सिँदै फेरि पहिरोले सताएपछि स्थानीयको पीडा थपिएको छ । आइतबार बिहान नेपाली सेनासहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा अन्य सम्बन्धित निकायका टोली वैकल्पिक बाटो हुँदै रिसाङ पुगे । जिल्ला सदरमुकामबाट नजिकै रहे पनि पहिरोले बाटो अवरुद्ध भएकाले सुरक्षा निकायलाई जोखिम मोलेर प्रभावित बस्तीमा पुग्नुपरेको थियो । बिहानदेखि नै खोज तथा उद्धारको काम सुरु भयो ।
स्थानीय तह, सुरक्षा निकाय तथा जिल्लाका सरोकारवाला निकायका टोली प्रभावित क्षेत्रमा पुगे । पहिरो पन्छाउँदै र जोखिमबिच खोजी गर्दै उद्धारको काम अघि बढाइयो । करिब दिउँसो १ बजेसम्म अलपत्र परेका नागरिकको उद्धार गरिएको थियो । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीसहित सुरक्षा निकायका प्रमुखहरू प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्न सक्रिय भए । अलपत्र परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउँदै आवश्यक व्यवस्थापनसमेत गरिएको थियो ।
अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका– २, रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी चारजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । पहिरोका कारण घर तथा टहरा भत्किनुका साथै दुई सयभन्दा बढी स्थानीय विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीका अनुसार शनिबार अपराह्न करिब ४ बजेदेखि अविरल वर्षापछि भेरी नगरपालिका– २, रिसाङसहित आसपासका विभिन्न स्थानमा पहिरोमा परी भेरी– २ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आइतबार बिहान ४ः५० बजे मृत्यु भएको छ । पहिरोमा बेपत्ता भएका अन्य तीनजना पनि मृत भेटिएका छन् ।
मृत्यु हुनेमा भेरी नगरपालिका– २, फारुलाका ५४ वर्षीया उमा सिंह खत्री, ७७ वर्षीया रति खत्री र चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की छन् । घाइते हुनेमा रिसाङका ६० वर्षीय रामबहादुर शाही मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् । चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ । रिसाङका ४५ वर्षीय सिद्धिबहादुर कामी जिल्ला अस्पताल जाजरकोटमा उपचाररत छन् ।
डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा र १६ वर्षीया मनीषा विकलाई थप उपचारका लागि बाँके रिफर गरिएको छ । चिसापानीकी २३ वर्षीया अनिता कार्की, रिसाङका १० वर्षीय युनिश शाही, ४५ वर्षीया सुन्तली चदरा, १४ वर्षीय सचिन कार्की र डौरीकाँडाकी ४७ वर्षीया मोतीकला विक उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले मौसमका कारण शनिबार खोज तथा उद्धारमा समस्या भएको बताए । आइतबार बिहान ५ बजेदेखि घटनास्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण सरोकारवाला निकाय सम्बन्धित ठाउँमा पुगेको उनको भनाइ छ । लगातारको वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले प्रभावित क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । १७ कात्तिक ०८० को विनाशकारी भूकम्पले जमिन कमजोर बनाएका कारण यहाँ बाढीपहिरोको जोखिम बढेको स्थानीयको भनाइ छ । बर्सेनि वर्षासँगै पहिरो खस्ने, घर भत्किने र बस्ती विस्थापित हुने क्रम दोहोरिँदै आएको छ ।
भूकम्पले जमिन चिराचिरा पारेपछि सामान्य वर्षामै पहिरो खस्ने जोखिम बढेको स्थानीय बताउँछन् । भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका परिवारलाई पहिरोको जोखिमले सुरक्षित स्थान खोज्नुपर्ने अवस्था आएको छ । जिल्लाका ग्रामीण बस्तीमा भिरालो जमिन, कमजोर भू–बनोट र अव्यवस्थित सडक निर्माणका कारण पनि पहिरोको जोखिम उच्च रहेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘विशेषगरी भूकम्प प्रभावित क्षेत्रमा वर्षातका वेला जोखिम थप बढेको छ,’ उनले भने, ‘एकातिर भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हुन सकेको छैन भने अर्कोतर्फ वर्षायाममा बाढीपहिरोले नयाँ क्षति थपिरहेको छ ।’
शनिबार अपराह्न जाजरकोटको रिसाङ र आसपासमा गएको पहिरोमा चारको मृत्यु, विस्थापित दुई सयजना स्थानीय विद्यालयमा
१७ कात्तिक ०८० मा गएको भूकम्पले चिराचिरा परेको रिसाङमा दुई महिनापछि नै सुक्खा पहिरो गएको थियो । ०८१ मा पनि ठाउँठाउँमा पहिरो खसेको थियो । तर, सरकारका कुनै पनि निकायले जुनकुनै वेला जनधनमा पर्न सक्ने क्षतितर्फ चासो नै दिएनन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत २९ असारमा मात्रै यहाँको भूगर्भीय अवस्था जोखिमपूर्ण रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र भेरी नगरपालिकालाई सचेत गराउँदै आवश्यक सावधानी र दीर्घकालीन रोकथामका उपायबारे पनि सुझाव दिएको थियो ।
रिसाङलगायत बस्तीमा बाटो धसिने, जमिनमा चिरा पर्ने, रुखहरू ढल्किनेजस्ता अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा नयाँ बस्ती विस्तार, सडक, भवन र अन्य भौतिक पूर्वाधारण निर्माण गर्दा भूगर्भीय अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूको सुझाव छ । तर, प्रतिवेदन कार्यान्वयन प्रक्रियामै गएको छैन भने रिसाङ र आसपासको क्षेत्र पहिराले प्रभावित बनेको छ । शनिबार अपराह्न गएको पहिरोमा चारको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विस्थापित दर्जनौँ परिवारका दुई सयजना स्थानीय विद्यालयमा आश्रय लिइरहेका छन् ।
खडानन्द अधिकारी
प्रमुख जिल्ला अधिकारी, जाजरकोट
हाम्रो मुख्य प्राथमिकता प्रभावित नागरिकलाई सुरक्षित र सहज जीवनमा फर्काउनु हो । वास्तविक प्रभावितको पहिचानदेखि अस्थायी आवास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसम्म आवश्यक समन्वय र पहल गरेर अघि बढ्छौँ ।