नेपाल भलिबल लिग १९ देखि २७ भदौसम्म

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
  • आयोजक केडिया ग्रुपले शनिबार ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने पुरुष एनभिएलको आधिकारिक मिति घोषणा गरेको छ

नेपाल भलिबल लिग (एनभिएल) आगामी १९ देखि २७ भदौसम्म हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताले शनिबार आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग सञ्चालन गर्ने निश्चित गरेको हो । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछन् । यस प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ ।

यसअघि एनभिएल १२ भदौदेखि सुरु हुने भनिएको थियो । आयोजकले आधिकारिक रूपमा मिति घोषणा गरेको थिएन । लिग राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुनेछ । नेपालमै पहिलोपटक हुनलागेको पुरुष भलिबल फ्रेन्चाइज लिगको आन्तरिक तयारीलाई तीव्रगतिमा अगाडि बढाएको आयोजकले जनाएको छ । 

पहिलो संस्करणका लागि टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मार्की खेलाडी, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ । एनभिएलका लागि अक्सनबाट ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी टोलीमा अनुबन्ध गरिरहेका छन् । अक्सनमा १२७ खेलाडी सहभागी थिए । क्याटेगोरी ‘ए’ बाट २४ र क्याटेगोरी ‘बी’बाट १८ जना खेलाडीलाई ६ टोलीले भित्र्याएका थिए ।

स्वदेशी खेलाडीपछि फ्रेन्चाइज टोलीले अब तीन विदेशी र एक ट्यालेन्ट हन्टमार्फत खेलाडी भित्र्याउन बाँकी छ । अक्सनमा चिरञ्जीवी खड्का र सनोज चौधरीमाथि सबै टोलीले सर्वाधिक मूल्य लगाएका थिए । लक्की ‘ड्र’मार्फत चिरञ्जीवी काठमाडौं र सनोज कर्णालीमा आबद्ध भए ।

अन्नपूणले राजेन्द्र धामी र सुरेन्द्र केसी एक लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको थियो । यसैगरी, काठमाडौंले चिरञ्जीवी खड्का अधितकम मूल्य एक लाख २० हजार रुपैयाँ अनुबन्ध गरेको थियो । सन्तोष विक र सन्तोष राई पनि अधिकतम मूल्यमै काठमाडौंमा भित्रिए । मधेशले धनबहादुर भट्ट र सन्तोष महतालाई अधिकतम एक लाख २० हजार रुपैयाँमा अक्सनमार्फत अनुबन्ध गरेको थियो । दुवै खेलाडी लक्की ‘ड्र’मार्फत मधेश पुगेका थिए ।

यसैगरी, सगरमाथाले अक्सनमा क्याटेगोरी ‘ए’बाट पहिलो चरणमा सुवास कुँवरलाई अधिकतम एक लाख २० हजारमा टोलीमा अनुबन्ध गर्‍यो । कर्णालीले निर्पध्वज बस्नेत, विनोद चन्द, सुरज चनारा र सनोज चौधरीलाई सर्वाधिक एक लाख २० हजार मूल्यमा अक्सनबाट अनुबन्ध गरेको थियो ।

महिला लिग असोजमा 
तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग आगामी १५ देखि २४ असोजसम्म काठमाडौंको दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने भएको छ । प्रतियोगिताका लागि नेपाल भलिबल संघले आधिकारिक स्वीकृति प्रदान गरेको छ । आयोजक इन्फिनिटी ड्रिम्सले तयारी कार्य औपचारिक रूपमा अघि बढाएको जानकारी दिएको छ । अघिल्ला दुई संस्करणको तुलनामा तेस्रो भव्य, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ । 

लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकले जनाएको छ ।

लिगमा कर्णाली यसविससँगै ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जासँगै सुदूरपश्चिम रोयल्स वारियर्सले भाग लिने छन् । यसपटक नयाँ टोलीका रूपमा सुदूरपश्चिम थप भएको हो । सुदूरपश्चिमको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीव शाही र कुमार भण्डारी रहेको छ । 

सुझावित समाचार