टर्मिनलको निर्माणाधीन सेफ्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
  • रारा विमानस्थलको निर्माणाधीन टर्मिनल भवनको सेफ्टिक ट्यांकी खुला अवस्थामा छाडिएको र त्यसको वरिपरि घेरबार तथा जोखिमबारे जानकारी दिने कुनै संकेत नराखिएकाले घटना भएको आफन्तको आरोप

रारा विमानस्थलको टर्मिनल भवनको निर्माणाधीन सेफ्टिक ट्यांकीमा डुबेर शनिबार बालकको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका– ४ स्थित रारा विमानस्थलको निर्माणाधीन टर्मिनल भवनमा रहेको शौचालयको करिब १४ फिट गहिरो सेफ्टिक ट्यांकीमा जम्मा भएको पानीमा डुबेर स्थानीय जयबहादुर भामका ११ वर्षीय छोरा गौरवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाका अनुसार शनिबार दिउँसो करिब २ः४० बजे सेफ्टिक ट्यांकीनजिकै बालकका लुगा र चप्पल देखेपछि स्थानीयले विमानस्थलका सुरक्षा गार्डलाई घटनाबारे जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै सहायक प्रहरी निरीक्षक बिर्खराज गुरुङको कमान्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा ट्यांकीमा जम्मा भएको पानी बाहिर निकालेपछि बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमान्डमा पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटाइएको छ । मृतक बालकका आफन्त तथा विमानस्थलआसपासका होटेल व्यवसायीले निर्माणाधीन टर्मिनल भवनको कामको जिम्मा लिएको ठेकेदार पक्षको लापरबाहीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन् । डिएसपी थपलियाले घटनाको थप अनुसन्धान भइरहेको र मृतक बालकका आफन्तसँग आवश्यक समन्वय तथा सहजीकरण भइरहेको बताए ।
 

See More On

सुझावित समाचार