बलवा नगरपालिकामा विद्यालय भवन र सामुदायिक भवनको उद्घाटन

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

महोत्तरीको बलवा नगरपालिका वडा नं. २ मा दुईकोठे विद्यालय भवन र तीनकोठे सामुदायिक भवनको नगरप्रमुख रामविजय महतोले उद्घाटन गरेका छन्। वहुवर्षीय बजेटबाट निर्मित उक्त दुवै भवनको शनिबार उनले उद्घाटन गरेका हुन्।

बलवा नगरपालिका २ स्थित श्री माध्यमिक विद्यालय बर्दियाले वर्षौँदेखि भवन अभाव झेल्दै आएकोमा थप गरिएको दुईकोठे भवनले विद्यार्थीको चाप व्यवस्थापनमा थोरै राहत पुग्ने र सामुदायिक भवनले समुदायस्तरीय कार्यक्रमहरू गर्न सहज हुने विश्वासका साथ भवन उद्घाटन गरिएको हो ।

भवन उदघाटनपश्चात् बोल्दै नगरप्रमुख महतोले बलवा नगरपालिकामा अझै सोचअनुरूप काम गर्न बाँकी रहेको बताउँदै शिक्षा क्षेत्रमा सुधारका लागि कुनै एउटा वडामा दुईकोठे भवन मात्र पर्याप्त नरहेको र समग्र पालिकाको शिक्षा क्षेत्रमा सुधारको लागि अझै धेरै विद्यालयमा विद्यार्थी अनुपातअनुसार भवन तथा बेन्चसहितको भौतिक संरचना व्यवस्थापन र विद्यार्थीकै अनुपातमा शिक्षक परिपूर्तिको प्रयास अझै भइरहेको बताएका छन्।

उनले शिक्षाको क्षेत्रमा अझै धेरै कार्य गर्न आवश्यक रहेको र चरणबद्ध रूपमा समग्र शिक्षामा आमूल परिवर्तनका लागि आफूहरू काम गरिरहेको बताए। उनले समुदायकै हितमा कार्यक्रमहरू गर्नसमेत टोलहरूमा अझै भवन निर्माण गर्न आवश्यक रहेकामा शिक्षा र समुदायका लागि समान रूपमा कामहरू पालिकाले गरिरहेको बताए।

भवनहरू उद्घाटन कार्यक्रममा बडा नं. २ का वडाध्यक्ष शशीभूषण साह, प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, शिक्षा शाखा संयोजक राजकिशोर झासहित विभिन्न जनप्रतिनिधिहरू, शिक्षक तथा समुदायका विशिष्ट व्यक्तिहरूका सहभागिता रहेको थियो।

सुझावित समाचार