रौतहटको चन्द्रपुरमा लम्पी स्किन रोग फैलिएपछि पशुपालक किसान चिन्तित

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर नगरपालिकामा गाई तथा बाछाबाछीमा लम्पी स्किन रोग तीव्र रूपमा फैलिए पछि पशुपालक किसान चिन्तित भएका छन्। रोगका कारण नगर क्षेत्रका विभिन्न स्थानमा बाछाबाछी मर्न थालेका छन् भने उपचारमा समेत किसानको ठूलो रकम खर्च भइरहेको छ।

नगरपालिकाका पशुपालक किसानले पालेका गाई तथा बाछाबाछीमा पछिल्लो समय लम्पी स्किनको संक्रमण बढेको हो। नगर क्षेत्रका दर्जनौँ बाछाबाछी मरिसकेको पशु प्राविधिक रोशन लामाले बताए। उनका अनुसार रोग फैलिन थालेपछि पशुपालक किसान समस्यामा परेका छन्।

रोगका कारण पशु मर्न थालेपछि किसानले समयमै रोकथाम र खोपको व्यवस्था हुनुपर्ने माग गरेका छन्। स्थानीय पशुपालक किसान रुद्र देवकोटाले नगरपालिकाले लम्पी स्किनविरुद्धको खोप लगाउन ढिलाइ गरेको गुनासो गरे। उनका अनुसार समयमै खोप उपलब्ध गराउन सके पशुमा रोग फैलिने जोखिम कम गर्न सकिन्थ्यो।
स्थानीय सन्तपुरका पशुपालक किसान अर्जुन पहाडीले एउटा बाछाबाछी बिरामी भएपछि उपचारका लागि ५ देखि ७ हजार रुपैयाँसम्म खर्च गर्दा पनि बचाउन नसकेको बताए। ‘पशु नै मरेपछि किसानको लगानी खेर गएको छ,’ उनले भने।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजयकुमार काफ्लेले भने लम्पी स्किन नियन्त्रणका लागि नगरपालिकाले खोप खरिद गर्ने तयारी गरिरहेको बताएका छन्। उनका अनुसार खोप खरिद गरेर प्रभावित क्षेत्रका गाई तथा बाछाबाछीमा लगाउने तयारी भइरहेको छ।

पशुपालक किसानका अनुसार लम्पी स्किनका कारण पशु बिरामी भएपछि उपचार खर्च बढ्ने मात्र होइन, दूध उत्पादनसमेत घट्ने गरेको छ। बाछाबाछी मर्न थालेपछि पशुपालनमा लगानी गरेका किसानलाई थप आर्थिक भार परेको उनीहरूको भनाइ छ।

लम्पी स्किन नियन्त्रणका लागि खोपसँगै संक्रमित पशुको पहिचान, उपचार, गोठ सरसफाइ तथा रोग फैलाउने कीरा नियन्त्रणमा समेत ध्यान दिनुपर्ने पशु प्राविधिकहरू बताउँछन्।

चन्द्रपुर नगरपालिकामा कति गाई तथा बाछाबाछी लम्पी स्किनबाट संक्रमित भएका छन् र अहिलेसम्म कति पशु मरेका छन् भन्ने यकिन तथ्यांक भने नगरपालिकाले सार्वजनिक गरेको छैन। रोग नियन्त्रणका लागि खोप खरिदको तयारी भइरहे पनि खोप कहिलेसम्म आइपुग्छ र सबै प्रभावित पशुलाई कहिलेसम्म खोप लगाइन्छ भन्ने स्पष्ट भइसकेको छैन।

पशुपालनमा निर्भर किसानको संख्या उल्लेख्य रहेको चन्द्रपुरमा रोग नियन्त्रणमा ढिलाइ भए संक्रमण अझ फैलिन सक्ने र किसानको आर्थिक क्षति बढ्न सक्ने जोखिम देखिएको छ।

सुझावित समाचार