शनिबार र आइतबार नाइमा मेलामा विशेष तयारी, महँगा दुईपांग्रेमा भिड

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार र आइतबार बिदाका दिनका लागि विशेष तयारी थालिएको छ । अन्य दिनभन्दा बिदाका दिनमा बढी अवलोकनकर्ता आउने अनुमान गरेको नाइमाले मूलतः पार्किङका लागि विशेष व्यवस्था मिलाएको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बताए ।

‘सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थल र नेपाल पुलिस क्लब भवनका दुवै तला खचाखच भएर पनि पार्किङका लागि स्पेस अभाव भइरहेको थियो,’ उनले भने, ‘अवलोकनकर्ताको उल्लेख्य सहभागिता भएका कारण शनिबार र आइतबारका लागि हामीले पार्किङका लागि विशेष तयारी गरेका छौँ ।’ एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो सुरु हुनुभन्दा अघिदेखि नै भृकुटीमण्डपको गेटमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ । तेस्रो दिनसम्ममा एक लाख आठ हजारभन्दा बढीले मेलाको अवलोकन गरिसकेका छन् । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।

दुईपांग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भिड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ । नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताले बताएका छन् । अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी–ग्यारेन्टी, रिसेल भ्यालुलगायतका विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जाजस्ता सुविधा दिएका छन् ।

सुझावित समाचार