- विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व हेरफेर भएपछि चर्किएको आन्तरिक विवादबिच शेरबहादुर देउवाले गरे पार्टी एकताको आह्वान । विशेष महाधिवेशनका नाममा विधि, विधान र पद्धति मिचिएको दाबी गर्दै सर्वोच्च अदालतबाट न्यायिक निरूपण हुने विश्वास।
कांग्रेसको नेतृत्व विवाद सडक, पार्टी र अदालत हुँदै निर्णायक मोडतर्फ अघि बढेको वेला शेरबहादुर देउवा समूहको भेलाले तत्काल महाधिवेशनको मिति नतोकी सर्वोच्च अदालतको फैसला पर्खने नीति लिएको छ । देशभरका नेता–कार्यकर्ता जम्मा भएको भेलाले कस्तो कदम चाल्छ भन्ने चासोबिच देउवा समूहले न्यायिक प्रक्रिया पर्खने सन्देश दिएको हो ।
काठमाडौंमा शुक्रबार सुरु भएको तीनदिने राष्ट्रिय भेलाको उद्घाटन गर्दै निवर्तमान सभापति देउवाले पार्टी एकताको पनि आह्वान गरेका छन् । उनले विशेष महाधिवेशनका नाममा विधि, विधान र पद्धति मिचिएको दाबी गर्दै यसको न्यायिक निरूपण सर्वोच्च अदालतबाट हुने विश्वास व्यक्त गरे ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतको पुनरवलोकनमा रहेकाले आफूले थप टिप्पणी नगर्ने बताएका देउवाले असहमतिको निकास व्यक्तिकेन्द्रित नभई बृहत्तर एकताबाट खोज्नुपर्नेमा जोड दिए । चार पुस्ताको राजनीतिक विरासत बोकेको कांग्रेसभित्रको विवादले पार्टी मात्र नभई मुलुकको राष्ट्रियता र लोकतन्त्रमै असर पार्न सक्ने उनको चेतावनी छ ।
‘लामो इतिहास बोकेको नेपाली कांग्रेसभित्र अहिले चरम विवाद बढेको छ । विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिच्ने काम भएको छ,’ देउवाले भने, ‘यो विषय सर्वोच्च अदालतमा पुनरवलोकनको अवस्थामा रहेकाले यसबारे थप टिप्पणी गर्न चाहन्नँ । तर, सर्वोच्च अदालतबाट हामीले न्याय पाउने कुरामा म पूर्ण विश्वस्त छु ।’
देउवाले अहिलेको असहमतिलाई सबैको न्याय र भावनाको कदर हुने गरी बृहत्तर एकतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै नेता–कार्यकर्तालाई एकताको पक्षमा दृढ हुन आह्वान गरे । ‘नेपाली कांग्रेसभित्र भावनात्मक रूपमै एकता र मेलमिलाप अत्यावश्यक छ भन्ने कुरामा म स्पष्ट छु । २००७ सालमा संघर्ष गरेको पुस्तादेखि अहिलेको युवा पुस्तासम्म चार पुस्ताको प्रतिनिधित्व गर्ने पार्टी हो कांग्रेस । पार्टीभित्र विवाद हुँदा त्यसको असर समग्र मुलुकको राष्ट्रियता र लोकतन्त्रमा पर्न सक्छ । विगतमा पनि कठिन र चरम विवादलाई सहमति र सहकार्यबाट समाधान गर्दै आएको अनुभव हामीसँग छ,’ देउवाले भने, ‘त्यसैले अहिले पार्टीभित्र देखिएको असहमति सबैको न्याय र भावनाको कदर हुने गरी बृहत्तर एकतामा बदल्नुपर्छ ।’
एकताका लागि आह्वान गर्दै उनले थपे, ‘एकताको आधार कुनै व्यक्ति हुनुहुँदैन, कांग्रेसको हित हुनुपर्छ । म आमनेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा दृढ भएर उभिन आह्वान गर्न चाहन्छु ।’
देउवाले ‘विगतमा केही पनि भएको थिएन’ भन्ने भाष्यले मुलुकलाई थप कमजोर बनाउने भन्दै विगतप्रति गर्व गर्ने वातावरण निर्माणका लागि बहस चलाउन नेता–कार्यकर्ताको ध्यानाकर्षण गराए । ‘विगतमा केही पनि भएको थिएन, जे–जे भयो सबै खराब भयो भन्ने भाष्य समाजमा फैलाउने हो भने क्षणिक लाभ त कसैलाई होला, तर मुलुक झन् कमजोर हुँदै जान्छ । मुलुकले आफ्नो विगत र इतिहासप्रति गर्व गर्नुपर्छ । त्यो वातावरण निर्माण गर्ने जिम्मेवारी अब नेपाली कांग्रेसका आमनेता–कार्यकर्ताको काँधमा आएको छ,’ देउवाले भने ।
अहिले देश संवेदनशील अवस्थामा रहेको भन्दै उनले समाजमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्ने बताए । ‘संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सबै साथीहरूले सजग भएर राष्ट्रिय एकता कायम गर्न र लोकतन्त्रलाई सुदृढ बनाउन भूमिका खेल्नुपर्ने हुन्छ,’ उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ । त्यसलाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि नेपाली कांग्रेसले लिनुपर्ने हुन्छ ।’
देउवाले स्वदेश फर्किने क्रममा विमानस्थलमा स्वागतका लागि उपस्थित भएका नेता–कार्यकर्ताप्रति पनि आभार व्यक्त गरे । करिब ६ महिना नेपालबाहिर रहेका देउवा बिहीबार काठमाडौंमा उत्रेका थिए, सोही वेला विमानस्थलमा नेता–कार्यकर्ताले स्वागत गरेका थिए ।
राष्ट्रिय भेलाले मूलतः १४औँ महाधिवेशनयताको समग्र समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भूमिकालगायत समग्र विषयमा छलफल गर्ने, तर पार्टी एकतालाई केन्द्रमा राखेर संस्थापनले जस्तो महाधिवेशनको मिति तोकिनहाल्ने नीति लिएको छ । पार्टीको आधिकारिकता विवाद पुनरवलोकनमा गएपछि देउवापक्ष आधिकारिकता पाउनेमा आशावादी देखिएको छ । राष्ट्रिय भेलाको उपस्थितिमा पनि त्यस्तो सन्देश दिएको नेताहरूको दाबी छ ।
‘हामी अहिले महाधिवेशनको मिति तोक्दैनौँ, किनभने पार्टीको आधिकारिकताको विषय नै अन्तिम न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा प्रक्रियामै छ,’ नेता प्रकाशशरण महतले भने, ‘लोकतान्त्रिक पार्टीले अदालती प्रक्रिया, कानुन, संविधान र विधानमाथि विश्वास गर्छ, त्यसैले फैसला नआउन्जेल पर्खिन्छौँ, त्यसपछि मात्रै त्यस आधारमै के गर्ने निर्णयमा पुग्छौँ ।’
अरू नेता कसले के भने ?
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २४ भदौभन्दा ठुलो र डरलाग्दो संकट रोक्दै देशलाई सही दिशामा डोर्याउन कांग्रेसमा एकता अपरिहार्य रहेको बताए । तीनदिने राष्ट्रिय भेला त्यही संकल्पसहित सम्पन्न हुने उनको भनाइ थियो । ‘नेपालको राष्ट्रियतामा खतरा छ । त्यसलाई जोगाउने पहिलो सर्त नेपाली कांग्रेसको एकता हो । नवीन र संगीन जिम्मेवारीका साथ नेपाली कांग्रेस उभिएको छ,’ उनले भने, ‘यदि हामीले सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध बनाएर छिमेकी तथा मित्रराष्ट्रहरूको चासोलाई समेत ध्यानमा राख्दै अघि बढ्न सकेनौँ भने २४ भदौभन्दा ठुलो र डरलाग्दो स्थिति आउन सक्छ । त्यसका लागि कांग्रेस एकताबद्ध हुन जरुरी छ ।’
उनले देशमा हालै मधेशमा देखिएको घटनाभन्दा पनि ठुलो द्वन्द्वको जोखिम रहेको चेतावनी दिए । ‘हामीले २४ गते सम्झियौँ भने हाम्रा सभापतिलाई मार्न मात्रै बाँकी राखेर त्यो दिनदेखि सुरु भएको रोडम्याप जारी छ । चाहे विशेष महाधिवेशनको नाममा होस् वा २१ फागुनको चुनावको नाममा,’ खड्काले भने, ‘त्यसलाई रोक्न सकेनौँ भने मधेशमा हालै भएको जातीय द्वन्द्वले देशलाई थरथर पारेको अवस्था छ । मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो, फिल्मको सुटिङ हुनै बाँकी छ ।’
नेता शेखर कोइरालाले पनि देशलाई बचाउन कांग्रेस एकढिक्का हुने विश्वास व्यक्त गरे । ‘कांग्रेस सबैलाई मिलाएर हिँडिरहेको पार्टी हो । हामी कसैको निरंकुशता स्विकार्दैनौँ । कांग्रेस एकढिक्का हुन जरुरी छ, हुन्छ भन्नेमा विश्वस्त छु । देशका निम्ति एकढिक्का हुन जरुरी छ । हामी एकताबद्ध भएर अरू पार्टीसँग पनि सहकार्य गर्दै अघि बढ्नुपर्छ,’ कोइरालाले भने ।
उनले पार्टीभित्र निरंकुशता स्वीकार्य नभएको स्पष्ट पारे । ‘पार्टीका विषयमा सर्वोच्च अदालतको निर्णय हामीले स्वीकार गर्यौँ । तर, स्वीकार गरिसकेपछि पनि पुनरवलोकनको माग गर्यौँ । अहिले हामीले निस्सा पाएका छौँ । न्यायपालिका स्वतन्त्र मात्रै होइन, निष्पक्ष पनि हुनुपर्छ,’ कोइरालाले भने ।
भेलामा संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले देउवालाई बिपी कोइरालाले समेत ‘पश्चिमको राजकुमार’ भनेर प्रशंसा गर्ने गरेको स्मरण गर्दै उनी आफ्नो मात्र नभई कांग्रेसलाई समेत एकजुट गराउन सक्ने नेता भएको बताए । ‘शेरबहादुरजीलाई बिपी कोइरालाले पश्चिमको राजकुमार भनेर भन्नुहुन्थ्यो । उहाँ पहिलोपटक वनारस आउँदा बिपीले मलाई शेरबहादुरजीलाई घुमाइदिनु भन्नुभयो । मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । मैले घुमाउन लगेँ, त्यो दिन हामीले तीनवटा सिनेमा हेर्यौँ,’ उनले भने ।
देउवालाई सफल नेताका रूपमा चित्रित गर्दै शशांकले अर्को प्रसंगसमेत स्मरण गरे । ‘मलाई थाहा छ, उहाँ सफल हुनुहुन्छ । शेरबहादुरजी नै हाम्रो नेता हो, सभापति शेरबहादुरजी नै हो । उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्छ,’ उनले भने । उनले कांग्रेसलाई एकजुट बनाउने उद्देश्यले नै राष्ट्रिय भेला आयोजना गरिएको पनि स्पष्ट पारे ।
पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टी एकता जोगाउन विधानको विषय उठाउँदा आफूहरूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको भन्दै आपत्ति जनाए । ‘विधान र नियमावली मिचेर काम गरियो । हामीले विधानसम्मत हुनुपर्छ भन्दा हामीलाई पार्टी फुटाउन दुष्प्रयास गरेको आरोप लगाइयो । तर, हामीले सत्य कुरा मात्रै बोलेका थियौँ,’ उनले भने ।
पूर्वउपसभापति विमलेन्द्र निधिले राष्ट्रिय भेलाको मुख्य उद्देश्य १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु रहेको बताए । ‘१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबाहेक अरू कसैलाई १५औँ महाधिवेशन गराउने अधिकार छैन । अवैध र अराजक धोकाधडी तथा कब्जाबाट बनाइएको विशेष महाधिवेशनबाट बनेको कमिटीलाई विधानअनुसार १५औँ महाधिवेशन गर्ने अधिकार नै छैन,’ निधिले भने ।
पूर्वउपसभापति विजय गच्छदारले देशलाई दूषित राजनीतिबाट मुक्त गर्न र कांग्रेसलाई एकजुट गराउन देउवाकै नेतृत्व आवश्यक रहेको बताए । ‘तपाईंको काँधमा धेरै ठुलो जिम्मेवारी छ, कांग्रेस मिलाइदिनुस् । दूषित राजनीतिबाट देशलाई मुक्त गर्नुस् । गगन थापालाई पनि सन्देश दिन्छु, यसरी हुँदैन । सानेपाको कुर्चीमा बसेर सेन्टिमेन्टल कुरा गरेर हुँदैन, कांग्रेस यहाँ छ,’ उनले भने ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अदालतले त्रुटि सच्याउने विश्वास व्यक्त गरे । ‘अहिले एउटा आशा पलाएको छ । सर्वोच्च अदालतले सुरुदेखि नै सुनुवाइ गर्नुपर्छ । निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्नेमा त्रुटि भएको थियो, त्यसैको पुनरवलोकन हुँदै छ,’ सिटौलाले भने, ‘सर्वोच्चले गर्ने निर्णयबाट कांग्रेसले न्याय पाउनेछ ।’ उनले गगन थापालाई सभापति भनेर सम्बोधन गर्नसमेत आफूलाई मन नलागेको बताए । ‘हाम्रा युवा नेता गगन भाइ हुन्, सभापति भन्न मन लागेको छैन । अराजक ढंगले विधानविपरीत विशेष महाधिवेशन गरियो । मानिसको जीवनमा गल्ती हुन्छ । उहाँले गल्ती आत्मसात् गरेर सच्याउनु राम्रो हुन्छ । त्यो बाटो अदालतले खोलिदिएको छ,’ सिटौलाले भने, ‘अब के गर्नुपर्छ, उहाँलाई थाहा होला । उहाँ आफैँ अग्रसर हुनुस् ।’
बन्दसत्रमा तीन हजार प्रतिनिधि : पाँच प्रस्तावमाथि शनिबार छलफल, आइतबार समापन
देउवा समूहले भेलाको उद्घाटनमा देशभरिबाट झन्डै पाँच हजार नेता–कार्यकर्ता सहभागी भएको दाबी गरेको छ । त्यस्तै, बन्दसत्रमै हलमा अटेसम्म तीन हजारदेखि तीन हजार पाँच सयसम्मलाई प्रतिनिधिकै रूपमा सहभागी गराउने तयारी छ ।
शनिबार बिहान ९ बजेबाट सुरु हुने बन्दसत्रमा पाँचवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको नेता डा. प्रकाशशरण महतले बताए । ९ बजेपछि क्रमशः दिउँसो १२ बजेसम्म नेता विमलेन्द्र निधिले राजनीतिक, डा. महतले आर्थिक र एनपी साउदले मुलुकको समसामयिक अवस्थासम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, सहमहामन्त्री उमाकान्त चौधरीले संगठनात्मक तथा नेता रमेश लेखकले कानुन र विधानसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि छलफलका लागि सातवटै प्रदेशको संयोजनको जिम्मेवारी क्रमशः कोशीमा गोमा भट्टराई, मधेशमा पद्मनारायण चौधरी, बागमतीमा शिव हुमागाईं, गण्डकीमा गुरु बराल, लुम्बिनीमा गेहेन्द्र गिरी, कर्णालीमा सीता राना र सुदूरपश्चिममा वीरबहादुर बलायरले गर्नेछन् । राष्ट्रिय भेलाको समापन आइतबार हुनेछ ।
उपसभापति विश्वप्रकाश शर्मा भन्छन्– निर्णायक अवस्थामा इतरपक्षका कार्यकर्ताले पार्टी रोज्नेछन्
इतरपक्षको राष्ट्रिय भेला चलिरहेका वेला २४ साउनदेखि बसेको संस्थापन पक्षको केन्द्रीय समितिको शुक्रबारको बैठकमा १२ जना नेताले धारणा राखेका छन् । बैठकमा उपसभापति विश्वप्रकाश शर्मा, नेतृ सुजाता कोइरालासहित सहमहामन्त्री बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू रमेश रिजाल, अर्जुनप्रसाद जोशी, ई. मोहन आचार्य, नानु बाँस्तोला, अजयबाबु सिवाकोटी, दिनेश कोइराला, शम्भुबहादुर बुढाथोकी, अनिलकुमार झा र केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभापति उद्धव थापाले धारणा राखेका छन् ।
यसैबिच बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति शर्माले इतरपक्षको भेलामा सहभागी नेता–कार्यकर्ताको भावनात्मक पक्षलाई आफूले सम्मान गर्ने भन्दै निर्णायक परिस्थिति आउँदा उनीहरूले व्यक्ति नभई पार्टी रोज्ने विश्वास व्यक्त गरेका छन् । ‘भेलामा आउनुभएका साथीहरूसँग संवाद भएको छ । उहाँहरू एउटा कुरामा स्पष्ट हुनुहुन्छ– व्यक्तिप्रतिको निष्ठा एकातर्फ हुन्छ, संस्थाप्रतिको निष्ठा अर्कोतर्फ । व्यक्ति र संस्थामध्ये एउटासँगको निष्ठा रोज्नुपर्ने दिन व्यक्तिभन्दा पार्टी, संस्था र सिद्धान्तप्रतिको निष्ठालाई उहाँहरूले गहिरो रूपमा हेक्का राख्नुहुन्छ, राख्नुभएको छ,’ शर्माले भने ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेतृ सुजाता कोइरालाले इतरपक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुँदै एकताको पक्षमा उभिन आग्रह गरिन् । ‘गिरिजाबाबु सधैँ भन्नुहुन्थ्यो– कांग्रेस जबजब बलियो र लोकप्रिय हुन्छ, तबतब यसका विरुद्ध अनेक षड्यन्त्र सुरु हुन्छन् । आज ठिक त्यस्तै अवस्था देखिएको छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले भने । उनले बाह्य तथा आन्तरिक षड्यन्त्रका बाबजुद सभापति गगन थापाले पार्टीलाई अत्यन्तै कुशल र परिपक्व ढंगले अघि बढाइरहेको दाबीसमेत गरिन् ।