रोल्पामा पहिरोले विपत्ति निम्त्याएको छ । बुधबार राति थबाङ गाउँपालिका– ५, उवा, बिहीबार राति सुनछहरी गाउँपालिका– २, भित्रीगामको फलबाङ र गिट्ठेमा पहिरो खस्दा १४ जनाको मृत्यु भएको छ । तीनजना बेपत्ता छन् ।
उवाको कोटलबारामा पहिरोले नौ घर पुर्दा १० जनाको मृत्यु र तीनजना बेपत्ता भएका थिए । दोस्रो दिन बिहीबार राति फलाङमा दम्पतीसहित तीन र गिट्ठेमा एकजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले बताए ।
फलबाङमा घर पुरिँदा बेपत्ता भएका घरमालिक ७७ वर्षीय बिरु घर्तीमगर र उनकी श्रीमती ६८ वर्षीया शनि घर्तीमगर तथा पाहुना आएकी ७० वर्षीया लली घर्तीमगरको शव शुक्रबार फेला परेको हो । सोही वडाको गिट्ठेमा पहिरोले घर पुरिँदा ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको हो ।
बेपत्ताको खोजी जारी
कोटलबारा पहिरोमा १३ जना परेका थिए । पाँचको घटनास्थल र पाँचको शव प्युठानमा भेटिए पनि अझै तीनजना बेपत्ता छन् । यद्यपि, १० शव फेला परे पनि आठको मात्र पहिचान भएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बेपत्ताको खोजीकार्य जारी रहेको बताए ।
कोटलबारा पहिरोमा नौ घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च बगाएको प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखूले बताए । त्यससँगै उवा गाउँका दर्जनौँ घरगोठ उच्च जोखिममा छन् । ‘कतिका घर चर्किएका छन्, कतिका आधा आँगन खसेका छन्,’ उवास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश घर्तीमगरले भने, ‘उवा तथा यस क्षेत्रका मानिस निकै त्रसित छन् ।’ बुधबारको पहिरोमा घाइते २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घरबारविहीन भएकाहरू छिमेकीकोमा शरण लिएर बसेको उवाका स्थानीय दुकमन रोकामगरले बताए ।
बेपत्ताले खोजी र घाइतेलाई निःशुल्क उपलब्ध गराउन प्रधानमन्त्रीसँग पुनको माग
रोल्पाबाट सांसदसमेत रहेका नेकपा नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर रोल्पा पहिरोमा बेपत्ताको खोजी र घाइतेलाई निःशुल्क उपलब्ध गराउन माग गरेका छन् । पुनका सचिवालयका अनुसार प्रधानमन्त्रीसमक्ष उनले पहिरोमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति तथा घरबारविहीन भएकालाई तत्काल अस्थायी आवास, राहत र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्थाको माग पनि गरे ।
पुनले प्रधानमन्त्रीसमक्ष रोल्पा पहिरोबारे ध्यानाकर्षण गराएको जानकारी सामाजिक सञ्जालमार्फत पनि दिएका छन् । ‘रोल्पामा निरन्तर विपत्बाट भएको जनधनको क्षतिबारे सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूसँग भेट गरी जिल्लाको जनप्रतिनिधिका रूपमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु,’ पुनले फेसबुकमा लेखेका छन्, ‘पछिल्ला दिनमा आएको बाढी तथा पहिरोबाट रोल्पामा धेरै मानिसको मृत्यु, बेपत्ता र घाइते भएका छन् । कतिपय बस्ती नै बगेका छन् । घर, पशुचौपाया तथा खाद्यान्नमा क्षति पुगेको छ भने सडक, खानेपानी, विद्यालयलगायत सार्वजनिक संरचना भत्किएका छन् । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने कुरा राखेको छु ।’
भेटमा प्रधानमन्त्री शाहले खोजी तथा पहिरोपीडितलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइसकेको जानकारी पुनलाई गराएका थिए ।
बाजुरामा पनि पहिरोले घर पुरियो, एकको मृत्यु, दुई घाइते
बाजुराको त्रिवेणी नगरपालिका– ९, ताम्सुमा बिहीबार राति पहिरोले दुईवटा घर पुर्दा भतिजीको मृत्यु भएको छ भने काकाको घाइते अवस्थामा उद्धार गरिएको छ । वर्षासँगै घरमाथिबाट खसेको पहिरोमा पुरिएर कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए । प्रतीक्षाको शव शुक्रबार मात्र फेला परेको थियो । सँगै रहेको अर्को घरमा पनि पहिरो खस्दा कर्णका भाइ ४० वर्षीय धर्म थापा घाइते भएका छन् । उनको बायाँ खुट्टा र शरीरमा चोट लागेको छ । त्यस्तै, डम्मर थापाकी ४० वर्षीया छोरी धौलीदेवी रावलको टाउको, शरीर र दाहिने खुट्टामा चोट लागेको छ ।