कांग्रेसले ११ भदौमा महिला उद्यमशीलता सम्मेलन गर्ने

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालयपरिसरमा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ।

पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बिहीबार बिहान बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो। उक्त सम्मेलनमा स्टार्टअप एवं साना तथा मझौला उद्यमी महिलाहरूको सहभागिता रहनेछ।

महिला उद्यमीहरूलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव साटासाट गर्ने, लगानीकर्तासँग सिधा भेटघाट गराउने, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी र उद्यमशीलताका लागि प्रेरणादायी वातावरण तयार पार्ने मुख्य उद्देश्यका साथ यो सम्मेलन आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

बैठकले बिपी स्मृति दिवसका दिन साउन ६ गते गरिएको ग्रिन रन प्रतियोगिताको महिलातर्फको दौड भदौ ६ गते पुनः सञ्चालन गरिने निर्णयसमेत गरेको छ। 

यसैगरी, प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गरेको छ। उपसमितिको सहजीकरण केन्द्रीय सदस्य डा. अमिता प्रधानले गर्ने निर्णयमा उल्लेख छ।

सुझावित समाचार