महिना दिनपछि काेदारी सडकमा पहिराे पन्छाउन सुरु

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

असार मसान्तदेखि बन्द भएकाे काेदारी सडकमा पहिराे पन्छाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय चरिकाेटले महिना दिनदेखि बन्द रहेकाे काेदारी राजमार्ग खुलाउन सुरु गरिएको बताएकाे छ। सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठुला मेसिन प्रयाेग गरिएको छ ।

सडक डिभिजन चरिकोटका प्रमुख सिनियर इन्जिनियर नारायणदत्त भण्डारीले मंगलबारबाट सडक बनाउन सुरुवात गरिएकाे बताए । चारकिलाे पहिराेमाथि रहेकाे पन्थली र इकाे पहिराेमाथिकाे काेदारी गाउँका बासिन्दासँग चरणबद्ध छलफल चलिरहेकाे र बस्तीकाे सुरक्षालाई मुख्य प्राथमिकता दिएर पहिराे पन्छाउन सुरु गरिएको उनले बताए ।

नियमित वर्षाले डाक्लाङ, चारकिलाे, इकाे र लिपिङमा पहिराे खसेकाे थियाे । डाक्लाङमा ५० मिटर सडक भासिएकाे, इकाेमा १०० मिटर भासिएकाे, लिपिङमा सडक भासिएर सडक सञ्जाल नै विच्छेद  भएको  र चारकिलाेमा पहिराेले सडक पुरिएको छ । एक महिनादेखि सडक बन्द हुँदा तातोपानी भन्सारकाे काम ठप्प छ । खासा-तातोपानी कन्टेनर आवातजावत पूर्ण रूपमा बन्द छ ।

तातोपानी भन्सारकाे लार्चा यार्डदेखि लिपिङसम्म ३० कन्टेनर सामान अलपत्र परेका छन् । भन्सार क्षेत्रमा पनि साना पहिराे र चट्टान फुटेर झरेकाेले सशस्त्र प्रहरीको क्याम्पमा क्षति पुगेको छ। यार्डमा राेकिएका केही कन्टेनरमा पनि क्षति पुगेको छ ।

‘स्थानीयसँग छलफल गर्दै पहिराे पन्छाउन थालिएको छ । सबैभन्दा पहिला डाक्लाङबाट सडक पन्छाउन र भासिएकाे ठाउँमा माटाे हालेर फिलिङ गर्ने काम सुरु गरेका छाैँ,’ भण्डारीले भने । पहिराे पन्छाउँदा बस्ती तानिने डरले त्रसित स्थानीयसँग पटकपटक छलफल गरेर निर्णयमा पुग्न लागेकाे उनले बताए । सडककाे निरीक्षण गर्न दुई साताअघि भाैतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साल, कानुनमन्त्री साेविता गाैतम, सडक विभागका महानिर्देशक डा. विजय जैसी, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे र सुरक्षा निकायका प्रमुख तातोपानी पुगेका थिए ।

डाक्लाङ र लिपिङमा भासिएकाे सडक बनाउन सहज भए पनि चारकिलाे र इकाे पहिराे पन्छाउन र बग्ने समस्या नियन्त्रण गर्न कठिन छ । लामाे समय नाकामा सवारीसाधन बन्द हुँदा आयात-निर्यात मात्रै हाेइन सीमा क्षेत्रकाे दैनिकीसमेत बिग्रिएकाे छ । चिनियाँ क्षेत्रबाट आउने खुद्रा सामग्री पनि बन्द गरिएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले  पहिराेले सडक बन्द हुँदा खासा तातोपानी आयात ठप्प भएको बताए ।

सीमा क्षेत्रमा ३० कन्टेनर सामान अलपत्र परेकाे, झन्डै डेढ सय कन्टेनर खासाबाट केरुङतर्फ फिर्ता भएको र दसैँका लागि हालिएको सामान तातोपानी नाका भएर ल्याउन चिनियाँ ट्रान्सपाेर्ट कम्पनीले अस्वीकार गरेकाे उनले बताए ।

‘नियमित सडक सञ्चालन हुन्छ भन्ने ग्यारेन्टी नभएसम्म चिनियाँ ट्रान्सपाेर्टले सामान जिम्मा लिँदैन,’ उनले भने । सबैभन्दा छाेटाे दूरीको तातोपानी नाका बन्द भएकोले  केरुङ र काेराेलाबाट सामान ल्याउँदा मूल्य बढ्ने उनको भनाइ छ । वर्षा कम भएर धमाधम सडक पन्छियाे भने दसैँका सामान ल्याउन पाइने आशामा व्यापारी छन् ।

सुझावित समाचार