इन्फान्टिनोको बचाउमा अमेरिकी राष्ट्रपति ट्रम्प

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण
  • फिफा अध्यक्ष इन्फान्टिनोलाई दबाबमा पदबाट हटाइँदा विश्व फुटबलले ठुलो गल्ती सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपतिको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई दबाब दिएर हटाइँदा विश्व फुटबलले ठुलो गल्ती सामना गर्नुपर्ने बताएका छन् । गत २८ जुलाईमा युरोपले फिफाका प्रतियोगिता बहिष्कार गर्ने योजना सार्वजनिक गरेपछि ट्रम्पले पहिलोपटक इन्फान्टिनोको पक्षमा बोलेका हुन् । ‘कुनै पनि कारणले फिफाले अध्यक्ष इन्फान्टिनोलाई हटाउनेबारे सोच्यो भने त्यो भयानक गल्ती हुनेछ,’ ट्रम्पले भनेका छन् ।

इन्फान्टिनोले विश्वकपको व्यापारिक र सञ्चालन अधिकार निजी लगानीकर्तालाई बेच्ने योजना सार्वजनिक गरेको दिनदेखि विवादको घेरामा परेका हुन् । उनले तीन साताअघि विश्वकपको २१ प्रतिशत सेयर निजी कम्पनीलाई बेच्ने घोषणा गरेका थिए । त्यसपछि युरोप, उत्तर अमेरिका र एसियाका फुटबल महासंघ एकजुट भएर इन्फाटिनोविरुद्ध लागेका छन् । अहिले फिफा अध्यक्षको योजनाको चौतर्फी विरोध भइरहेको छ । उनीहरूले फिफा अध्यक्षबाट राजीनामा दिनुपर्ने दबाब दिएका छन् ।

गत साता भावी फिफा अध्यक्षका रूपमा ६ जनालाई पनि अगाडि सारिएको थियो । जसका कारण इन्फान्टिनोले आफ्नो पद सुरक्षित नभएको महसुस गरेका छन् । यद्यपि, २३औँ संस्करणको विश्वकपपछि इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको सम्बन्ध प्रगाढ बनेको छ । फुटबलका सबै शक्तिशाली महासंघ एकै स्थानमा उभिँदा ट्रम्पले सोसल मिडियाबाट इन्फान्टिनोको समर्थन गरेका छन् । ट्रम्पले इन्फान्टिनोलाई हटाउनु फिफाको एउटा भयानक गल्ती हुने चेतावनी दिएका छन् । ‘इन्फान्टिनोविना फिफा कहिल्यै सफल र नाफामूलक हुन सक्दैन,’ ट्रम्पले भने, ‘फिफा अध्यक्षका कारण नै अमेरिका, क्यानडा र मेक्सिकोले सफलतापूर्वक विश्वकप आयोजना गरिएको हो ।’

ट्रम्पले इन्फान्टिनोलाई एक अद्भुत र शक्तिशाली व्यक्तिको संज्ञा दिएका छन् । ‘तपाईँहरूले देख्नुभयो होला । इतिहासमै पहिलोपटक विश्वकप तीन राष्ट्रहरूले आयोजना गरेका थिए । अझ त्यसमाथि सर्वाधिक ४८ राष्ट्रको सहभागिता रह्यो । यो सबै एक कुशल व्यक्तिका कारण सम्भव भएको हो,’ ट्रम्पले भने । 

व्यक्तिगत स्वार्थको पछाडि फिफा
युरोप, उत्तर अमेरिका र एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार एक संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै फिफा अध्यक्ष इन्फान्टिनो वर्तमान समयमा फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्न अग्रसर भएको आरोप लगाएका छन् । ‘फिफा अध्यक्षले फुटबलको सामूहिक हितभन्दा आफूलाई अगाडि राखेका छन् । यसले फुटबलको विश्वास नै तोडिएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

See More On

सुझावित समाचार