स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित सर्लाहीमा एकजना पक्राउ

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटरको डिकी, कालो झोला र अन्य फल्स बटनमा लुकाएको एक हजार रुपैयाँ दरका ३५०० थान, ५०० रुपैयाँ दरका ३१०८ थान, सय रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट बरामद गरेको हो।

नियन्त्रणमा लिने क्रममा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी घाइते भएकाे प्रहरीले जनाएको छ। उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि म्याक्स अस्पतालमा थप उपचार भइरहेको छ।

महतोलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको बताइएको छ।

सुझावित समाचार