दुध संकलन र कारोबार बढाउन डिडिसीले गर्‍यो त्रिपक्षीय समझदारी

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

नेपालको दुग्ध क्षेत्रको विकास, दुग्ध उत्पादक कृषकहरूको व्यावसायिक प्रवद्र्धन तथा बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दुग्ध विकास संस्थान (डिडिसी), कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस समझदारीको मुख्य उद्देश्य दुग्ध उत्पादक कृषकहरूलाई बजारको ग्यारेन्टी गर्नु, दुग्धजन्य पदार्थको गुणस्तर र उत्पादन वृद्धि गर्नुका साथै साना किसानहरूलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराई उनीहरूको आयआर्जनमा वृद्धि गर्नु रहेको डिडिसीले जनाएको छ।

सम्झौताअन्तर्गत तीनवटै संस्थाहरूले स्पष्ट कार्यविभाजन गरी सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख छ। डिडिसीले साना किसान कृषि सहकारी संस्थाबाट उत्पादित दूधको खरिद, बजार व्यवस्थापन, बढी भएको दूधलाई मखन तथा धुलो दूधमा रूपान्तरण गर्ने र कृषकहरूलाई प्राविधिक सहयोग तथा प्रोत्साहन उपलब्ध गराउने जिम्मेवारी लिएको छ।

त्यसैगरी, कृषि सहकारी केन्द्रीय संघले आफ्ना सदस्य दुग्ध सहकारी संस्थाहरूमार्फत दूध संकलन, चिस्यान र डिडिसीसम्म पु¥याउने व्यवस्थाका साथै कृषकहरूलाई तालिम, नस्ल सुधार र पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने छ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले भने दुग्ध उत्पादक सहकारी तथा कृषकहरूलाई पशुपालन, गोठ सुधार र मेसिनरी खरिदका लागि आवश्यक सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र जोखिम न्यूनीकरणका लागि आकस्मिक कोषको व्यवस्थापनमा सहयोग पु¥याउनेछ।

सञ्चालन तथा भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन दूधको माग र आपूर्तिको सन्तुलन मिलाउन ‘पिक सिजन’ र ‘लीन सिजन’को कोटा निर्धारण गरिनेछ भने डिडिसीले खरिद गरेको दूधको भुक्तानी तोकिएको चक्रअनुसार सहकारीहरूमार्फत सिधै कृषकहरूको खातामा पुग्ने व्यवस्था मिलाइनेछ। सम्झौताको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधिहरू रहने गरी समन्वय समिति र ‘फोकल पर्सन’को व्यवस्था गरिएको छ।
यस सहकार्यले नेपालका ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्दै दुग्ध क्षेत्रमा आत्मनिर्भरता बढाउन र ‘मिल्क होलिडे’जस्ता समस्याहरूको दिगो समाधान गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।
 

See More On

सुझावित समाचार