बर्दियामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। गुलरिया–नेपालगन्ज हुलाकी सडकखण्डमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा बढैयाताल गाउँपालिका– २ का ५५ वर्षीय गणेशप्रसाद पाण्डेको मृत्यु भएको हो।
हुलाकी सडकखण्डको बढैयाताल गाउँपालिका– ३ भोलागौडीमा भारतीय नम्बर प्लेटको बिआर ०२ सिबी २५२८ नम्बरको कारले भे.१४ प ८९८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकलचालक पाण्डेको टाउको र पेटमा चोट लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
घाइते पाण्डेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेलबासेले बताए।
दुर्घटनामा संलग्न कारचालक बारबर्दिया नगरपालिका– ३ का २९ वर्षीय राघव ढकाललाई कारसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।