एलपी ग्यासको आपूर्ति अवरुद्ध भएपछि उदयपुरका बजार क्षेत्रमा दाउराको माग बढेको छ। नियमित रूपमा ग्यास प्रयोग गर्दै आएका परिवारसमेत सिलिन्डर नपाएपछि वैकल्पिक इन्धनका रूपमा दाउरा खोज्न थालेका छन्। तर, ग्यास अभावले अहिले बजारमा देखिएको दाउराको मागले उदयपुरको पुरानो वास्तविकता देखिएको छ। जिल्लाका झन्डै ७० प्रतिशत परिवार अझै खाना पकाउन दाउरामै निर्भर थिए, अब झनै बढ्ने देखिन्छ।
राष्ट्रिय जनगणना ०७८ अनुसार उदयपुरका ८१ हजार ५१ परिवारमध्ये ५६ हजार ५६५ परिवारले खाना पकाउन दाउरा प्रयोग गर्छन्। यो कुल परिवारको ६९.७९ प्रतिशत हो। एलपी ग्यास प्रयोग गर्ने परिवार २३ हजार १६४ अर्थात् २८.५५ प्रतिशत छन्। दाउरा र ग्यास दुवैमा निर्भर परिवार जोड्दा जिल्लाको ९८ प्रतिशतभन्दा बढी परिवार यी दुई प्रमुख इन्धनको भरमा रहेको देखिन्छ।
अहिले ग्यासको आपूर्ति रोकिँदा त्यसको तत्काल असर बजार क्षेत्रमा परेको छ । गाईघाटलगायतका बजारमा ग्यास नपाएपछि उपभोक्ताले दाउरा खोज्न थालेका छन्। त्रियुगा नगरपालिका– ११, गाईघाटकी मुना दाहालले एक सातादेखि ग्यास नपाएपछि दाउरा प्रयोग गर्न थालेकी छिन्। ‘आधा ल्याएको ग्यास सकियो । अहिले नपाएको एक हप्ता भयो,’ उनले भनिन्।
ग्यास अभावको कारण भने आपूर्ति नै भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईका अनुसार बजार अनुगमन भइरहे पनि ग्यास लुकाएर राखेको अवस्था भेटिएको छैन। ‘उदयपुरको गाईघाट, कटारीलगायत बजारमा ग्यास पाउन मुस्किल छ। व्यापारीले ग्यास ल्याउन नपाएकै कारण अभाव देखिएको हो,’ उनले भने ।
ग्यासको विकल्प खोज्नुपर्ने अवस्था बजारमा अहिले मात्र आएको हो। ग्रामीण उदयपुरमा भने दाउरा अझै खाना पकाउने प्रमुख इन्धन हो। वन तथा स्थानीय स्रोतबाट दाउरा सहजै उपलब्ध हुने भएकाले ग्रामीण परिवारको ठुलो हिस्सा परम्परागत इन्धनमै निर्भर छ।
आधुनिक ऊर्जाको पहुँच विस्तार भइरहे पनि खाना पकाउने इन्धनमा त्यसको प्रभाव कमजोर देखिन्छ । जनगणनाअनुसार जिल्लामा बिजुलीबाट खाना पकाउने परिवार ७५५ मात्र छन्। जुन बिजुलीबाट खाना पकाउने संस्कारको विकास नभएको शिक्षक पदम राई बताउँछन्। उनले भने, ‘गाउँघरमा सहजै विद्युतीय चुलो प्रयोग गर्न सकिन्छ। चेतनाको कारण उपभोक्ताहरू डराउँछन् । बिजुलीबाट खाना पकाउँदा झन् धुँवाबाट मान्छे जोगिन्छ । तर, करेन्ट लाग्ने अनि भ्याट लाग्ने भन्दै दाउरा प्रयोग भइरहेको देखेको छु।’ बायोग्यास प्रयोग गर्ने ४६८ मात्रै छन् । गुइँठा प्रयोग गर्ने २१, मट्टीतेल प्रयोग गर्ने ४८ र अन्य स्रोत प्रयोग गर्ने परिवार ३० छन् ।
यसले उदयपुरमा खाना पकाउने ऊर्जाको विकल्प अझै सीमित रहेको देखाउँछ। ग्यास आपूर्ति नियमित हुँदा बजारले त्यसलाई आधुनिक विकल्प माने पनि संकट पर्दा ठुलो हिस्सा फेरि दाउरामै फर्किनुपर्ने अवस्था छ। ग्यासको विकल्प खोज्नुपर्ने अवस्था बजारमा अहिले मात्र आएको हो। ग्रामीण उदयपुरमा भने दाउरा अझै खाना पकाउने प्रमुख इन्धन हो। वन तथा स्थानीय स्रोतबाट दाउरा सहजै उपलब्ध हुने भएकाले ग्रामीण परिवारको ठुलो हिस्सा परम्परागत इन्धनमै निर्भर छ ।