डिलरमार्फत ग्यास नपाएको गुनासो बढेपछि आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलबारी (रुपन्देही)ले भैरहवा र बुटवलमा आठवटा ब्रान्डको एकीकृत बिक्री थालेको छ । मंगलबार बुटवल, आरती, सिद्धार्थ, सिद्धनाथ, जानकारी, स्वस्तिक, लुम्बिनी, त्रिशूल र चण्डेश्वरी ब्रान्डको ग्यास बिक्री गरेको निगमका प्रादेशिक प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए । उनका अनुसार भैरहवास्थित खाद्य संस्थानको प्रांगणमा राखिएको बिक्री केन्द्रबाट ५४० र बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसपरिसरमा राखिएको बिक्री केन्द्रबाट ८२८ थान सिलिन्डर बिक्री भएको छ ।
‘बिहीबारसमेत बिक्री केन्द्र खोलेर ग्यास वितरण हुनेछ । बिहीबार करिब तीन हजार थान ग्यास सिलिन्डर वितरण गर्ने लक्ष्य छ,’ उनले भने । एकीकृत डिपोमा सुत्केरी महिला, विद्यार्थी तथा विपन्न वर्गको बढी उपस्थिति रहेको उनले जानकारी दिए ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भन्छन्–सरकारले भनेजस्तो पर्याप्त उपलब्ध भएदेखि बजारमा ग्यासको लाइन किन कम भएको छैन ? ग्यास सिलिन्डरको वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्छ, साना डिलरहरूले उपभोक्तालाई ग्यास दिन आनाकानी गरिरहेको हामीले पाएका छौँ । त्यसलाई व्यवस्थापन गर्न सरकारी निकायहरू लाग्नुपर्छ ।