रास्वपासँग झन्डै दुईतिहाइ सांसद, तर सदनमा पुर्‍याउन सकेन एकचौथाइ

कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण
रास्वपासँग झन्डै दुईतिहाइ सांसद, तर सदनमा पुर्‍याउन सकेन एकचौथाइ

उद्योगमन्त्री गौरीकुमारी यादव प्रतिनिधिसभा बैठकमा मंगलबार साँझ खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न रोस्टमतर्फ जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत सांसद छन् । तर, सभामा एकचौथाइ जुटाउन पनि नसकेपछि कोरम नपुगेर बैठक नै स्थगित गर्नुपरेको छ ।

मंगलबारको बैठकमा उद्योगमन्त्री गौरीकुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्तावमा राति सवा ८ बजेसम्म छलफल भएको थियो । छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने वेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो । सांसदहरू हाजिर गरेर ‘टाप’ कस्दा यस्तो अवस्था निम्तिएको हो ।

बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन ७२ घण्टाको समय पाउने थिए । अब यो प्रस्ताव १ भदौमा बस्ने बैठकमा मात्रै अगाडि बढ्नेछ ।

२१ फागुनको निर्वाचनबाट रास्वपाले दुईतिहाइ प्राप्त गरेपछि प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेको मंगलबार पहिलोपटक हो । संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न ६९ सदस्य उपस्थित हुनुपर्छ । मंगलबार ६१ सांसद मात्रै उपस्थित थिए । संसद् सचिवालयका अनुसार मंगलबारको बैठकमा सुरुवातमा २२० भन्दा बढी सांसद उपस्थित थिए ।

बैठकमा उद्योगमन्त्री यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए । यत्तिकैमा कांग्रेस सचेतक निस्कल राईले गणपूरक संख्या नपुगेको भन्दै गणना गरिपाऊँ भनेर माग गरे । सभामुखले तीन मिनेट घन्टी बजाएर गणना गर्न लगाएका थिए । तर, गणनामा ६१ जना मात्रै उपस्थित देखिएपछि आठ सदस्य नपुगेको भन्दै बैठक स्थगित गरे । 

रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बैठक लामो चलेकाले सांसदहरू निस्किँदा गणपूरक संख्या पुर्याउन नसकिएको बताए । उनले आगामी दिनमा यस विषयमा ख्याल गरिने प्रतिबद्धता जनाए । 

See More On

सुझावित समाचार