- प्रदर्शनमा सहभागी हुन सोमबार बिहान विभिन्न जिल्लाबाट हजारौँ विद्यार्थी रेल, बस र अन्य सवारीमार्फत राजधानी राँची पुगेका थिए
रकारी परीक्षामा हुने धाँधलीको विरोधमा झारखण्डको राजधानी राँचीमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको छ । सोमबार विधानसभातर्फ अघि बढ्ने क्रममा सुरक्षा घेरा तोडेपछि प्रदर्शनकारी विद्यार्थीलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज र पानीको फोहरा प्रहार गरेको हो । मुख्यमन्त्री हेमन्त सोरेनले संवादबाटै सबै समस्या समाधान गर्ने बताइरहेका वेला विद्यार्थीमाथि दमन भएको हो । प्रहरीले प्रदर्शनकारीलाई रोक्न पानीको फोहरा प्रयोग गर्दा केही विद्यार्थी नाचेका थिए । यसले दिल्लीमा केही दिनअघि भएको प्रश्नपत्र चुहावटको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनका दृश्यको झल्को दिन्थ्यो ।
प्रदर्शनमा सहभागी हुन सोमबार बिहान विभिन्न जिल्लाबाट हजारौँ विद्यार्थी रेल, बस र अन्य सवारीसाधनमार्फत ठुलो संख्यामा राज्यको राजधानी पुगेका थिए । ‘सरकारले हाम्रो कुरा सुन्नुपर्छ र जवाफ दिनुपर्छ,’ एक विद्यार्थीको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था एनडिटिभीले लेखेको छ ।
झारखण्ड लोक सेवा आयोग (जेपिएससी) र झारखण्ड कर्मचारी चयन आयोग (जेएसएससी) द्वारा सञ्चालित परीक्षामा हुने गरेका प्रश्नपत्र चुहावट रोक्नुपर्ने विद्यार्थीको प्रमुख माग छ । सोही विषयलाई लिएर विद्यार्थीसहितका विभिन्न समूह र सरकारद्वारा गठित समितिबिच विभिन्न चरणमा वार्ता भएका थिए । आइतबार छैटौँ चरणको वार्ता भएको थियो । विद्यार्थीले परीक्षामा भएका अनियमितताको विषयमा सिबिआईले जाँच गर्नुपर्ने अडान राख्दै आएका छन् । राज्य सरकारले विद्यार्थीका अधिकांश माग पूरा गरिसकेको दाबी गर्दै प्रदर्शन फिर्ता लिन आग्रह गरेको छ । रद्द गर्नुपर्ने माग गरिएका १३ परीक्षामध्ये सरकारले केवल तीनवटा मात्र रद्द गर्न तयार भएको विद्यार्थीको भनाइ छ । यसैबिच, युजेपिएससी –जेएसएससी सुधार मञ्चका नेता रवीन्द्र पासवानले सिबिआई जाँचको मागमा आफूहरू अडिग रहेको बताए ।
प्रदर्शनमा प्रहरी अवरोध
सहरमा शान्ति–सुरक्षासम्बन्धी समस्या आउन सक्ने आकलन गर्दै प्रशासनले मुख्य चोक र संवेदनशील स्थानमा अवरोध खडा गरेको थियो । ठुलो संख्यामा प्रहरी बल परिचालन गरिनुका साथै कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था मिलाइएको थियो ।
प्रदर्शनका कारण सोमबार राँचीका अधिकांश विद्यालय बन्द रहे । राजधानी जाने विद्यार्थीको संख्या सीमित गर्ने प्रयासमा प्रहरीले जिल्लाका सिमाना, मुख्य सडक र राजमार्गमा बस तथा निजी सवारी साधनको जाँच पनि गरेको थियो । ६ जना प्रदर्शनकारी विद्यार्थी आमरण अनशनमा छन् । मुख्यमन्त्री सोरेनले यसअघि भर्ना परीक्षामा भएको अनियमितताका लागि जिम्मेवार व्यक्तिमाथि कडा कारबाही गरिने प्रदर्शनकारीलाई आश्वासन दिएका थिए ।
विद्यार्थीमाथि दमन निन्दनीय : राहुल
कंग्रेस नेता राहुल गान्धीले सोमबार झारखण्डमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको बल प्रयोगको निन्दा गरे । ‘झारखण्डमा विरोध प्रदर्शन गरिरहेका विद्यार्थीमाथि बल प्रयोग गर्नु गलत हो । विद्यार्थीलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार छ र संवादबाट मात्र समाधान निस्कन सक्छ,’ गान्धीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा भने । ‘झारखण्ड सरकारले यी विद्यार्थीको कुरा सुन्नुपर्छ । उनीहरूका समस्या तत्काल समाधान गर्नुपर्छ’ उनले भने ।
यसैबिच राज्यको अपराध अनुसन्धान विभाग (सिआइबी) ले भर्ना परीक्षाहरूमा भएको भनिएको अनियमितताको सम्बन्धमा झारखण्ड लोक सेवा आयोगका पूर्वअध्यक्ष एल. खियाङ्टेलाई पनि पक्राउ गरेको छ । खियाङ्टेले गत जुलाई २२ मा उक्त पदबाट राजीनामा दिएका थिए ।
–एनडिटिभीबाट