अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका २० ठुला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
बजेट कार्यान्वयन छलफल शृंखलाअन्तर्गत हुने छलफलमा बहुराष्ट्रिय कम्पनीले पाएका बजेट सुविधा, लगानीका समस्या तथा नेपालमा लगानी विस्तार र रोजगारी सिर्जनाका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
मध्याह्न १२ बजे मन्त्रालयमा हुने छलफलमा कम्पनीका स्वदेशी तथा विदेशी उच्चपदस्थ प्रतिनिधिहरू सहभागी हुनेछन्।
यसअघि अर्थमन्त्री वाग्लेले औद्योगिक घराना, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयनबारे छलफल गरिसकेका छन्।