कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालापरिसरमा अत्याधुनिक पौडीपोखरीको निर्माण कार्य पूरा भएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी निर्माण गरिएको पौडीपोखरी तयार भएसँगै कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने भएको छ ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सकेको छैन । प्रतियोगिताको तीनपटक मिति सारिएको छ । अब २८ साउनमा बस्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठकले नयाँ मिति पुनः तोक्ने एजेन्डामा समावेश गरिएको छ । पौडी खेलका लागि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा नयाँ पौडीपोखरी निर्माण सम्पन्न हुनु महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसअघि नियमित प्रशिक्षणका लागि उपयुक्त पूर्वाधारको अभाव हुँदा खेलाडीले विभिन्न कठिनाइ सामना गर्दै आएका थिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले पौडीपोखरी निर्माण सम्पन्न भएपछि प्रदेशका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने बताए । उनका अनुसार नयाँ पूर्वाधारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको तयारीलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । ‘पौडीपोखरी निर्माण भएपछि कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षण गर्न सहज हुनेछ । यसले दसौँ राष्ट्रिय खेलकुदका लागि खेलाडीको तयारीलाई पनि थप राम्रो र व्यवस्थित बनाउन सहयोग पुग्नेछ,’ सदस्यसचिव चन्दले भने ।
स्तरोन्नतिलाई प्राथमिकता
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णालीमा पछिल्लो समय खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । नयाँ पौडीपोखरीले प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीलाई मात्र नभई प्रदेशमा पौडी खेलको आधार फराकिलो बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नियमित प्रशिक्षणको अवसर पाएपछि नयाँ प्रतिभाको पहिचान तथा खेलाडीको क्षमता विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ । कर्णालीमा पौडी खेलको सम्भावना रहे पनि पूर्वाधार अभावका कारण खेलाडीले नियमित प्रशिक्षणको अवसर पाउन सकेका थिएनन् । अब आफ्नै प्रदेशमा व्यवस्थित पौडीपोखरी उपलब्ध भएपछि खेलाडीलाई प्रशिक्षणका लागि बाहिरी जिल्लामा वा अन्य स्थानमा निर्भर हुनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।