अतिरिक्त सञ्चय नगर्न ग्यास उद्योगीको आग्रह

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

नेपाल एलपि ग्यास उद्योग संघले उपभोक्तालाई ग्यासको अनावश्यक सञ्चय नगर्न आह्वान गरेको छ । संघले सरकारसँगै उद्योगी र विक्रेता ग्यासको सहज आपूर्ति गर्न लागिपरेको उल्लेख गर्दै अनावश्यक रूपमा सिलिन्डर सञ्चय (होल्ड) नगर्न आह्वान गरेको हो ।

उपभोक्ताले अतिरिक्त सञ्चय नगरे एलपी ग्यासको आपूर्ति तत्काल सहज हुने संघको दाबी छ । संघ अध्यक्ष दिवानबहादुर चन्दले विज्ञप्ति जारी गर्दै विक्रेतालाई घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री–वितरण गर्नसमेत अनुरोध गरेको छ । संघका अनुसार नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको छ । सहज रूपमा एलपी ग्यासको आयातसँगै ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेको छ । 

 कालोबजारी रोक्न सादा पोसाकमा खटिए प्रहरी 
खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि डिपोहरूमा प्रहरी परिचालन गरिएको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ ।

‘ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो,’ मन्त्रीको सचिवालयले उल्लेख गरेको छ, ‘मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिनुभएको हो ।’ सोहीअनुसार आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको सचिवालयले जनाएको छ । 

ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी सादा पोसाकका प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार